काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता परिवर्तनका लागि नेपाली काँग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन् ।
शनिवार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष दाहालले हप्ताको दुईरतीन पटक नेपाली काँग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका थिए ।
सोही बारेमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्दै ०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरुमार्फत आग्रह गरेको बताए । उनले महामन्त्री थापालाई आफूले युवा नेताको रुपमा धेरै संवाद र सहकार्य गर्ने गरेको बताउँदै पछिल्ला केही महिना यता धेरै परिवर्तन भएको पाएको बताए ।
जनतालाई झुटो बोलेको देख्दा महामन्त्री थापाप्रति दया लागेको उनले बताए । काँग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रुपमा कुरा नभएको दाबी गरे । प्रचण्डले थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न सुझाव दिए ।
उनले भने, ‘गगन थापालाई मैले एउटा युवा नेताको रुपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो । अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ । कति तल कति छिटो झर्न सकेको हो । त्यस्तो एउटा राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुटो कुरा गर्नसक्ने भएको देख्दा उहाँप्रति मलाई साँच्चै दया लागेको छ ।’