काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु भएको छ ।
उनलाई पोखराबाट हिजो साँझ काठमाडौं ल्याइएको थियो । आज बिहान जिल्ला सरकारी वकिलको कार्यालय उपस्थित गराइएको हो ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई वयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।
प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ लिएको भेटिएको थियो । यसपछि उनी छानबिनको दायरामा तानिएका हुन् ।
पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।
उनीसँगै पक्राउ पूर्जी जारी भएका अर्का आरोपी नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीकाे भने बयान लिएर पोखरा फिर्ता पठाइसकिएको छ ।
लामिछाने कास्की प्रहरीको हिरासतमा रहँदै आएका थिए । उनीमाथि अदालतले पटक–पटक म्याद थपेर अनुसन्धान गर्न अनुमति दिँदै आएको छ । पछिल्लोपटक कास्की अदालतले लामिछानेमाथि म्याद थपका लागि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने काठमाडौंमा बयान सकिएपछि पोखरा लगेर त्यहाँबाट चितवन लगिनेछ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेका लामिछानेमाथि साहारा चितवन सहकारीका २४ बचतकर्ताले पूरक जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भइसकेको छ।