बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा फेरि बस्ने मन्त्रिपरिषद्को बैठकले टुङ्गो लगाउने

यस्तो छ चीन जाने प्रतिनिधिमण्डल

शुक्रबार, मंसिर १४ २०८१

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने चीन भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री ओली नेतृत्वको चीन भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डले जानकारी दिए ।

“प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डाबारेमा थप छलफल जारी छ, ऐजेण्डा तय भइसकेको छैन, भ्रमण दल र प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएको छ, भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति छ, तर निजी क्षेत्रबाट आफ्नै खर्चमा जाने हो, सरकारलाई आर्थिक दायित्व पर्दैन, टोलीमा केही जरुरी व्यक्तित्वहरु मात्रै हुनुहुन्छ”, बैठकबारे जानकारी गराउँदै मन्त्री पाण्डेले भने ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको एजेण्डाका बारेमा मन्त्रिपरिषद्को अर्को बैठकले टुङ्गो लगाउने उनको भनाइ थियो । मन्त्री पाण्डेले मन्त्रिपरिषद्मा अन्य विषयका बारेमा छलफल भए पनि निर्णय नभएको बताए ।

बैठकले भ्रमण टोलीमा सहभागी हुने सरकारीतर्फ ३९ जना र निजी ४८ गरी ८७ सदस्यीय  प्रतिनिधिमण्डलको टुंगो लगाएको छ ।

सरकारी टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, सांसद अर्जुननरसिंह केसी, श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्ला, रञ्जिता श्रेष्ठ, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू रामप्रसाद घिमिरे, अमृतबहादुर राई  छन् ।