काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् ।
आफूलाई सामाजिक अभियन्ता भन्ने दुर्गा प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए । प्रसाईंले भिडियो सामाजिक सञ्जालमा राखेपछि महासचिव पोखरेलले यो राष्ट्र र जनताविरुद्धको षडयन्त्र भएको उल्लेख गरेका छन् ।
कुनै पनि समाजका लागि षडयन्त्र र अराजकताले त्यस समाजको भविष्यलाई वरवाद बनाउने विष वृक्ष भएको पोखरेलले प्रष्ट पारेका छन् ।
‘यस प्रकारको षडयन्त्र र अराजकतावाद राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो’, महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
प्रसाईँले म मर्न तयार छु तर यस्ता तस्करसँग झुक्न तयार छैन भन्दै सामाजिक सञ्जालमा भिडियो राखेका छन् । यो सुरुवात मात्र भएको भन्दै यस्ता प्रमाणहरू अन्य दलका नेताहरूका पनि आइरहने धम्की पनि प्रसाईंले दिएका छन् ।
यस्तै एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले दुर्गा प्रसाईंलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
प्रसाईं विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरुद्ध परिचालित भएकाले नियन्त्रणमा लिनुपर्ने उनको माग छ । प्रसाईंले प्रधानमन्त्री ओलीलाई लगाएको आरोप पुष्टि गर्न लगाउन पनि उनले माग गरेका छन् ।
बैंकहरूको अरबौँ रुपैँया ऋण लिएर नतिरी बैंकको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारणलाई भ्रममा पारेर वित्तीय अपराध गरिरहेका प्रसाईंले किर्ते कागजको अपराध सुरु गरेको थापाको भनाई छ ।
‘बैंकको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारण जनतालाई भ्रममा पारेर वित्तीय अपराधमा संलग्न, तर उल्टै तथाकथित अभियान चलाइरहेको र स्वयंचाहिँ अरबौँ रकम बैंकको ऋण लिएर नतिरी उफ्रिरहेको ठगले नक्कली (फेक) कागजातको कारखाना पनि सञ्चालन गर्न सुरु गरेछ, विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरुद्ध परिचालित यस सिल्ली फ्याउरोलाई अनुसन्धान गर्ने निकायद्वारा तत्काल नियन्त्रणमा लिएर प्रमाण पुष्टि गर्न लगाइयोस्’, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
प्रसाईं मानसिक रूपमा पनि अस्वस्थ देखिएकोले स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाउन पनि उनले माग गरेका छन् । ‘मानसिक स्वास्थ्य पनि परीक्षण गरिहाल्ने प्रबन्ध मिलाइयोस्’, उनले लेखेका छन् ।
यस्तै एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले पनि दुर्गा प्रसाईं जस्ता मानसिक सन्तुलन गुमेका व्यक्तिहरुलाई चाँडो भन्दा चाँडो छानबिन गरी सरकारले कारबाही गर्नु पर्ने बताएका छन् ।
‘फोटोसपको माध्यमबाट Smart Axaiata company को एम ओय यु को फेक डकुमेन्ट बनाई केपी ओलीको नाम र सिग्नेचरलाई कपी पेस्ट गरे उहाँको नाममा ३२ करोड लगानी छ भनेर भ्रामक कुराहरु फैलाउने दुर्गा पर्साई जस्ता मानसिक सन्तुलन गुमेका व्यक्तिहरुलाई चाँडो भन्दा चाँडो छानबिन गरी सरकारले कारबाही गर्नु पर्दछ ।’ उनले भनेका छन् ।
राज्यमा अराजकता र अशान्ति फैलाउन कसैको चरित्र हत्या गर्ने गरी कोही अपराधिक चरित्रका मान्छेहरूले आफ्नो अनुचित लाभको लागी मासलाई माइन्ड क्यापचर गर्दै भ्रम सृजना गरी मास ग्यादर गर्नको लागि जे पाए त्यही बोल्दा पनि छुट पाउने स्थितिको अनत्य गर्न राज्य र सिँगो समाजनै लाग्नु पर्ने बेला भएकाे बस्नेतकाे माग छ ।