बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

भक्तपुरमा ९४ वर्षीया वृद्धा दुबै खुट्टा बाधिएको अवस्थामा मृत फेला

बिहिबार, कार्तिक २९ २०८१

काठमाडौं । भक्तपुरमा एक वृद्धा हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर, भरतपुरका अनुसार मृत फेला पर्नेमा भक्तपुर नगरपालिका-३, दरबारस्क्वायर इछुगल्लीकी ९४ वर्षीय विष्णुकुमारी त्वयना हुन् ।

बुधवार साँझ सबा ५ बजे आफ्नो घरको चौथो तलामा रहेको कोठामा उनी मृत अवस्थामा फेला परेकी थिइन्।

वडाध्यक्ष राजकुमार गोराका अनुसार, विष्णु कुमारी आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन् भने उनका चार छोरा सूर्यविनायक क्षेत्रतिर सरेका थिए। दिनभर सासु घर बाहिर नदेखिएकोले उनकी कान्छी बुहारी हेर्न जाँदा विष्णु कुमारीको दुबै खुट्टा कपडाले बाँधिएको अवस्थामा मृत फेला परेको बताइएको छ।

घटनाको प्रकृति हेर्दा चोरले खुट्टा बाँधेर हत्या गरेको हुनसक्ने देखिए पनि घरमा चोरीको कुनै घटना नभएकाले स्थानीयले यो घटनालाई शंकास्पद मानेका छन्। शवलाई पोस्टमार्टमका लागि केएमसी अस्पताल, दुवाकोट पठाइएको छ भने पोस्टमार्टमको रिपोर्टपछि मात्रै हत्या भए नभएको यकिन हुने जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार, घटनाको अनुसन्धानलाई तीव्रता दिइएको छ र शङ्कास्पद गतिविधिमा संलग्न रहेको आशङ्कामा नजिकै डेरा बस्ने एक जनालाई नियन्त्रणमा लिइएको छ। डिएसपी ढुन्डिराज नेउपानेका अनुसार थप अनुसन्धान जारी छ।