रुपन्देही । सहकारीको रकम ठगीको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधवार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा करिब दश घण्टा बयान लिइएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगीको आरोपमा रुपन्देही प्रहरीले कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रूपन्देही ल्याएर बयान लिएको हो ।
सभापति लामिछानेसँग जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता, प्रहरी अधिकारीहरुको उपस्थितिमा मंगलबार पाँच घण्टा र बुधवार करिब दश घण्टा गरी करिब १५ घण्टा बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जनाएको छ ।
बुधवार बयान लिँदै गर्दा रातपरेपछि बिहीबार बिहानसम्मका लागि बयान स्थगित गरिएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए ।
आज बिहीबार बिहानैदेखि पुनः लामिछानेसँग बयान लिइने उनले बताए ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।
लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।