रुपन्देही । पोखराबाट भैरहवामा अनुसन्धानको लागी ल्याईएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ ।
ङ्गलवार मौखिक प्रश्न सोधिएको उनलाई आज भने लिखित प्रश्न सोधिने भएको छ । आज बिहान सवा १० बजेदेखि नै बयान निरन्तर हुने जनाइएको छ । समाचार श्रोतका अनुसार मङ्गलवारको बयानमा उनले सहकारी रकम हिनामिनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
रुपन्देहीको सरकारी वकिलको कार्यालयमा हिजा बयान नसकिएपछि आज पनि बयान लिन लागिएको हो । भरसक आजै बयान सकेर उनलाई कास्की फिर्ता गर्ने तयारी छ ।
पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।
यसैबीच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
रविलाई सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धान गर्न कास्की पु¥याइएको थियो । कास्की प्रहरीले रविविरुद्ध ठगी, कीर्ते, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई मङ्गलवार दिउँसो १ बजे पोखरा विमानस्थलबाट भैरहवा हुँदै जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको थियो ।
रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरका अनुसार मंगलबारदेखि सुरु भएको रविको बयान बुधबार पनि जारी रहने बताए । राठौरले भने, ‘भ्याइयो भने आज बयान सकेर कास्की पठाउँछौं ।’
रविमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली कास्कीमै छ । कास्की प्रहरीले रवि मात्रै नभएर उनका अर्का पार्टनर एवं गोरखा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशी बञ्जाडे पनि नियन्त्रणमा छन् । छविलाई यसअघि नै रुपन्देही पु¥याएर बयान लिइएको छ ।
सुप्रिम सहकारीबाट छविका नाममा पनि २ करोड रुपैयाँ प्रवाह भएको संसदीय छानबिन विशेष समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ गएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।