काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दसैँको मुखमा भद्रगोल हुन थालेको छ । राप्रपामा कसैका लागि दसैँ खुसी र कसैका लागि तनावपूर्ण हुने गरी आएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनका कारण यस्तो अवस्था आएको हो । यसले पार्टीलाई विभाजनतिर लैजाने खतरा पनि बढाएको भन्दै राप्रपाभित्र तनाव बढाएको छ ।
अध्यक्ष लिङ्देनले केही दिन अघि केही विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गर्ने निर्णय लिएपछि राप्रपामा बढेको असन्तुष्टिले तिक्ततामात्र होइन, पार्टी विभाजनको संघारसम्म धकेलेको छ । यो निर्णयसँग मध्यधारमा रहेका नेता कार्यकर्ता पनि कित्ताकाट हुन थालेका छन् ।
यसले अविवेकी आरोप लागेका अध्यक्ष लिङ्देनलाई थप तनाव थप्ने काम भने गरेको छ । यद्यपि, उनी सम्भावित परिघटनाको विश्लेषण गरेर नै निर्णय लिएको हुनसक्ने आंकलन पनि गरिएको छ ।
अध्यक्ष लिङ्देनले केहीदिन अघि संगठन विभाग प्रमुखबाट सांसद धवलशमशेर राणालाई हटाएर बुद्धिमान तामाङलाई ल्याएका थिए । अनि, राजनीतिक विभागको प्रमुखमा रविन्द्र मिश्रलाई ल्याएका थिए ।
यी दुई मुख्य विभागको नेतृत्व हेरफेरलाई धेरैले अर्थपूर्ण मानेका छन् । त्यसमा पनि संगठन विभाग प्रमुखबाट राणालाई हटाउने निर्णय चाहिँ राप्रपाभित्र सबैभन्दा बढी विवाद र चर्चाको विषय बनेको छ ।
मिश्रको विषयमा धेरैले प्रश्न उठाएका छैनन् । तर, राणालाई हटाउने लिङ्दे्नको निर्णयले भने पार्टीभित्र हलचल ल्याएको स्रोत बताउछ । भारतको टाटा क्यान्सर अस्पतालमा उपचार गराईरहेका राणालाई काठमाडौंमा सामान्य विवेक समेत नराखेर अध्यक्ष लिङ्देनले विभागबाट हटाएका हुन् ।
क्यान्सरको उपचारमा अस्पतालको शैयामा भएको विरामीलाई थप तनाव दिने गरी लिङ्देनले गरेको निर्णय अमानवीय र असंवेदनशील, अविवेकी भएको भन्दै राप्रपाभित्र कडा आलोचना पनि भइरहेको छ ।
विगत केही समयदेखि महामन्त्री राणाले अध्यक्ष लिङ्देनको लाइन लिन छोडेका थिए । अध्यक्ष लिङ्देनको लाइनविपरीत सांसद राणा हिड्न थालेपछि दूरी बढ्दै गएको राप्रपा स्रोत बताउछ । महाधिवेशनमा अध्यक्ष बनाउन सबैभन्दा बढी सक्रिय सांसद राणा नै थिए । तर, चुनावपछि सरकारमा जाने वा नजाने भन्ने विषयमा उनीहरुवीच मतभेद बढेको थियो ।
अध्यक्ष लिङ्देन र महामन्त्री राणावीच त्यतिबेलादेखि बढेको दूरी अहिलेसम्म घटेको थिएन । उनीहरुवीच बढेको दूरी नघटेकै बेलामा राप्रपाभित्र दुई धार देखिँदा लिङ्देनविरुद्ध ठूलो अभिमत प्रकट भएको थियो ।
पार्टीको कार्यसमितिमा सबै संरचनामा अध्यक्ष लिङ्देन अल्पमतमा रहेका छन् । महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकोले हटाउनका लागि हिम्मत नगरेका कारणमात्रै उनी अध्यक्ष भइरहेको दावी राणा पक्षका नेताहरुको भनाइ छ ।
राणालाई साथ दिएर पछिल्ला दिनमा प्रकाशचन्द्र लोहनी पनि अध्यक्षको विपक्षमा उभिएका छन् । यो सबै विवादको बिचमा भने पशुपतिशमशेर राणा रहेका थिए । उनी मझधारमा बसेर मिलाउने प्रयास गरिरहेका थिए । तर, अस्पतालको शैयामा भएको विरामीको जिम्मेवारी हटाउने गरी अध्यक्ष लिङ्देनको निर्णयपछि भने पशुपति शमशेर राणा पनि विपक्षमा देखिएको स्रोतको दावी छ ।
पशुपति शम्सेर यसबिचमा भारत जाने तयारीमा थिए । तर, यही प्रकरणका कारण तत्काललाई भारत जाने कार्यक्रम स्थगित भएको राप्रपाका नेताहरुले बताए । राणा पक्षका नेताहरुले डेलिगेशन गएर पशुपति शमशेर राणालाई दबाब दिएपछि उनी रोकिएको बताइएको छ ।
पार्टी विभाजनको खतरा बढेको भन्दै उनीहरुले पशुपति शम्सेर राणालाई दबाब दिन गएका थिए । पार्टीको केन्द्रीय समितिमा अल्पमतमा रहेका अध्यक्ष लिङ्देनले पछिल्लो समय मनोनितको संख्या पनि बढाएका छन् । नवीन राप्रपाको नाममा युवा पुस्ताका केही व्यक्ति राप्रपाको केन्द्रीय सदस्यमा मनोनित भइरहेका छन् ।
यही क्रममा अध्यक्ष लिङ्देनले आफ्नो टीम बलियो बनाउने गरी नयाँ व्यक्तिहरुलाई मनोनित गरेको स्रोत बताउछ । नवीन राप्रपाको नाममा ४० बर्ष मुनिका २० जना के.स. मनोनित गरिसकेका छन् भने अझै मनोनित गर्ने प्रयास गरिरहेका छन् ।
यसरी जबर्जस्ती बहुमत पु¥याउने प्रयासमा अध्यक्ष लिङ्देन रहेका छन् । लोहनीसहित राणाको पक्षमा विक्रम पाण्डे, कुन्ति शाहीसहितको पदाधिकारीको बहुमत टीम रहेको छ । साँघु साप्ताहिकबाट