मोरङ । मोरङ प्रहरी यतिबेला दुई छोरीलाई विष खुवाएर हत्या गरेको आरोप लागेकी सुन्दरहरैँचाको गोठगाउँकी अस्मिता पौडेल कार्कीको खोजीमा जुटेको छ । बस्ती क्षेत्रतिर खोज्दा दुई दिनमा पनि उनी फेला नपरेपछि प्रहरीले सोमवार जङ्गलतर्फ खोज्न शुरू गरेको हो ।
केराबारी, खोर्साने र पूर्वाञ्चल विश्वविद्यालयको जङ्गल क्षेत्रमा अस्मिताको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए ।
अस्मिताको मोबाइल भने छोरीहरू शव भेटिएकै स्थानमा फेला परेको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूका अनुसार उनले श्रीमान् अर्जुन कार्कीलाई ‘तेरा छोरी मारिसकेँ’ भनेर म्यासेज गरेको खुलेको छ ।
‘छोरी मारिसकेको भनेर श्रीमानलाई म्यासेज पठाएको देखिन्छ,ु अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘मोबाइल पनि पानीमा भिजेको अवस्थामा भेटिएको छ । यो म्यासेज अस्मिताले नै पठाएको हो कि होइन भनेर अनुसन्धान गर्दैछौँ ।’