बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

गुट-उपगुटको कोपभाजनमा रामकुमारी झाँक्री, पुरानो घर एमालेमै फर्किन सुझाव

शनिबार, भाद्र १५ २०८१

काठमाडौं । सानो पार्टी अथवा राष्ट्रिय पार्टीसमेत हुन नसकेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको यतिबेला निकै चर्चा छ । यसमध्ये उपाध्यक्षमा रामकुमारी झाँक्रीको पराजय बढी चासो र चर्चाको विषय बनेको छ ।

विशेषत पार्टीमा प्रभाविशाली मानिएकी युवा नेतृ एवं पूर्वमन्त्री झाँक्रीलाई अध्यक्ष नेपालकै सक्रियतामा उपाध्यक्षमा हराइएपछि यसको चर्चा भएको हो । झाँक्रीलाई जयन्तीदेवी राईले पराजित गरेकी हुन् ।  राईले १८९ मत पाउँदा झाँक्रीले १२२ मत मात्र पाइन्।

नेकपा एमाले विभाजनपछि बनेको नयाँ पार्टीमा झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको थियो ।

महाधिवेशनमा सहमतिमै केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने भन्दै निर्णय गरेपनि अन्तत पदाधिकारीको चयन भने मतदानबाट गरिएको छ।

विशेषत दुई गुटमा विभाजित केन्द्रीय समितिमा नेपाल पक्षले पदाधिकारी निर्वाचनमा आफ्नो पक्षको चीट नै बाँडेर भोट मागेका थिए। सो सूचीमा झाक्रीको नाम थिएन। अझ अध्यक्ष स्वयंनै राष्ट्रिय स्तरको युवा नेतालाई पराजित गराउन लागि परेका कारण सो पार्टीमा अव झाँक्रीको राजनीतिक भविष्य कस्तो होला भन्ने आम मानिसले चासो व्यक्त गरेका छन् । यतिबेला मिडिया र सामाजिक सञ्जालमा अब झाँक्री एकीकृत समाजवादीमा रहनुको कुनै औचित्य नरहेको टिप्पणी भइरहेको छ।

एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठनको बेला माधव नेपाललाई बलियो साथ दिएकी झाँक्रीलाई स्वयम् संस्थापन पक्ष नै किन हराउन पुग्यो भन्ने चासो यतिबेला छ ।

उनले नेपालको हात समातेर डोर्‍याएको फोटो भाइरल नै बन्न पुगेको थियो । पार्टी निर्माणका बेला पनि उचित जिम्मेवारी नपाएकी रामकुमारीले त्यसपछि सहरी विकास मन्त्री बन्ने अवसर भने पाएकी थिइन् । तर, मन्त्रीबाट बाहिरने क्रममा उनले आँसु नै झार्नुपर्ने अवस्था आयो पार्टीभित्रकै गुट उपगुटको शिकारमा त्यो बेला पनि उनी परेकी थिइन् । त्यो बेला उनले मन्त्रीबाट फिर्ता हुन गाह्रो नभए पनि मन्त्री फिर्ता बोलाउने निर्णय सञ्चारमाध्यमबाट थाहा पाउनु भने पीडादायी भएको बताएकी थिइन् ।

त्यसपछि उनी पार्टीभित्र झण्डै निष्क्रियमात्र बनिनन् उनले यो व्यवहारले पार्टी नबन्ने सार्वजनिक अभिव्यक्ति दिइन् । पार्टी नेतृत्वको सार्वजनिक रुपमा आलोचना पनि गरिन् । झाँक्रीले पार्टी छाड्न लागेको हल्ला समेत चलेको थियो । उनी एमाले फर्कने चर्चा चलेको थियो ।

कतिले त झाक्रीलाई पुरानो घर एमालेमै फर्किन सुझाव दिएका छन् । तर झाक्री स्वयंले भने अहिलेसम्म कुनै ठोस प्रतिक्रिया दिएकी छैनन्। एमाले सचिव योगेश भट्टराईले झाक्रीलाई उनका लागि उपयुक्त पार्टी एमाले नै भएको बताइसकेका छन् । एक समयमा झाक्रीका आइडल पर्सनका रुपमा रहेका भट्टराईले यसो भनेको खवर पाएकी झाँक्री एक अन्तर्वार्ताको क्रममा निक्कै भावुकसमेत भएकी थिइन् ।

‘रामकुमारी झाँक्रीजीका लागि एमाले उपयुक्त पार्टी थियो र अहिले पनि छ,’ उनले भने, ‘एमालेमा उहाँको योगदान छ । यो पार्टीमा फर्कन उहाँलाई ढोका बन्द छैन ।’ भट्टराईले भनेका छन् ।

एमाले फर्कनेबारे गम्भीर छलफल नभए पनि उपयुक्त पार्टीमा फर्किन उचित हुने सुझाव उनले दिए । माओवादी केन्द्रसँगको पार्टी एकताको विपक्षमा रहेकी झाँक्रीले पछिल्लो समय एकीकृत समाजवादी बलियो पार्टी बनाउन नसक्ने हो भने एमालेसँग एकता गर्न सकिने धारणा राख्दै आएकी छन् । एमालेलाई दुष्मनका रुपमा नभई उसको व्यवहारको आधारमा हेरिनुपर्ने उनले धारणा राख्दै आइकी छन् ।

भलै महिला उपाध्यक्षमा हारेपनि झाक्री पोलिटब्यूरो सदस्यमा भने लोकप्रिय मतकासाथ निर्वाचित भएकी छन् ।

एकीकृत समाजवादीको पदाधिकारीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहेका छन्। त्यस्तै उपाध्यक्षहरु डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, भानुभक्त जोशी र जयन्ती राई रहेका छन्।

त्यस्तै महासचिव घनश्याम भुसाल, उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह र राजेन्द्र राई निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, श्रीनाथ बराल, सावित्रीकुमारी भुसाल र चन्द्रबहादुर शाही रहेका छन्।