बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संसदीय छानबिन विशेष समितिले आज रवि लामिछानेको बयान लिँदै

शुक्रबार, भाद्र ७ २०८१

काठमाडौं । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयानका लागि बोलाएको छ ।

लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीमा नाम जोडिएको र गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि आजै बयानका लागि बोलाइएको छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ ।

समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर बयान लिएको थियो । विपिनले पनि कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उनको हस्ताक्षर चल्ने गरेको बयान दिएका थिए ।

यसअघि बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफू बयान दिन जाने बताएका थिए ।

लामिछानेभन्दा अगाडि आज बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि सोधपुछका लागि बोलाइएको सभापति थापाले बताए ।