काठमाडौँ । सशस्त्र प्रहरी बलका डीआईजी अञ्जनीकुमार पोखरेल र डीआईजी पुरुषोत्तम थापा लगायतका केही अधिकृतहरुलाई संगठनको हित विपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधिएको छ ।
पोखरेल हाल सानो गौचरणमा रहेको स्टाफ कलेजमा कार्यरत रहेका छन् । थापा मुख्यालयमै कार्यरत रहेका छन् । दुवै डीआईजी सिं सं १ का व्याची हुन् ।
उनीहरुलाई संगठनमा रहेर गर्नुपर्ने आचारसंहिता पालना नगरेको तथा संगठनको हित विपरीत कार्य गरेको आरोपमा स्पष्टीकरण सोधिएको हो ।
पोखरेलले सशस्त्र प्रहरीको एक कार्यक्रममा नेपाल प्रहरीलाई सीमा क्षेत्रबाट हटाउनु पर्ने र त्यहाँ सशस्त्रले कभर गर्नुपर्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावको बारेमा कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै नेपाल प्रहरीले गृह मन्त्रालयमा गुनासो गरेको थियो ।
यस्तै आगलागी प्रकरणमा अर्का डीआईजी पुरुषोत्तम थापालाई पनि स्पष्टीकरण सोधिएको छ । यो स्पष्टीकरणलाई सशस्त्र प्रहरीले गोप्य राख्न चाहेको छ । डीआईजी पोखरेललाई संगठनको आन्तरिक नीति नियम र आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको स्रोतको दावी छ ।
बराह बाहिनीबाट मधेश प्रदेशमा रहेको छिन्नमस्ता बाहिनीमा सरुवा चाहेका डीआईजी पोखरेलले माओवादीका नेताहरूसँग भेटघाट गरेको स्रोतको दावी छ ।
त्यस्तै थापालाई सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका बेला सशस्त्र प्रहरीको केन्द्रीय भण्डारणमा आगलागी भएको थियो ।
सो विषयमा उनलाई कारबाहीको लागी पहिलो चरणमा स्पष्टीकरण सोधिएको सशस्त्र प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।
उनीहरू दुवै जना संगठनको भावी नेतृत्वको प्रतिस्पर्धी पनि हुन् ।