बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

वैकल्पिक गठबन्धनको कसरतमा देउवा र माधव नेपाल

बिहिबार, बैशाख ६ २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ ।

दुई नेताबीचको भेटवार्तामा वैकल्पिक गठबन्धनको प्रयास जारी राख्ने सहमति समेत बनेको छ।

बुधबार बेलुका नेपाली कांग्रेसका नेता डा नारायण खड्काको निवासमा भएको भेटमा सुदूरपश्चिम सरकारलगायत वैकल्पिक गठबन्धन बनाउने विषयमा समेत छलफल भएको थियो ।

करिब डेढ घण्टा दुई नेता बीच छलफल चलेको थियो । स्रोतका अनुसार दुई नेताबीच वैकल्पिक गठबन्धन बनाउन जसपालाई फकाउँदै नागरिक उन्मुक्तिलाई सँगै लिएर बढ्नेबारे गृहकार्य सुरु भएको छ।

सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्ने समेतको सहमति भएको बुझिएको छ ।

मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदैछ ।

केन्द्रीय सरकारमा नयाँ समीकरण बनाउन सकिने बारे पनि कुरा भएको स्रोतले बतायो ।

सत्ता गठबन्धनमा सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय भएको छ । तर, एमालेले सोडारीलाई समर्थन नगर्ने भने पछि दुई नेताबीच भेटवार्ता भएको हो ।

हिजो बसेको नेकपा एसको सचिवालयको बैठकले नयाँ गठबन्धनको सुरूआतमै प्रचण्ड(ओलीले विश्वासमा कुठाराघात गरेको निष्कर्ष गरेका थियो।

यति बेला नेकपा एस आफूले केन्द्रदेखि प्रदेशसम्म नेतृत्व पाए जुनसुकै गठबन्धनमा पनि सामेल हुने रणनीतिका साथ अघि बढेको छ।