बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

सहकारी ठगी प्रकरण

संसदीय छानबिन समिति कांग्रेसको पहिलो शर्त

सोमबार, चैत्र २६ २०८०

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउनु पर्ने पहिलो शर्त राखेको छ ।

संसद्‌मा रहेका पूर्व र वर्तमान कांग्रेस पदाधिकारीको सोमबार बिहान बसेको बैठकले छानबिन समितिबाट नहट्ने निर्णय लिएको हो ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफूहरूले उठाएको मागबाट पछि नहट्ने निर्णय गरेको हो ।

यसैबीच कांग्रेसले माग गरिरहेको संसदीय छानबिन समितिका बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले दलका नेताहरूलाई २ः३० बजे बोलाएका छन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएपछि सभामुखले संवादको पहल थालेका हुन् ।

छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुने भएका छन् ।

विहान साढे १० बजे बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तता देखाउदै दिउँसो २ बजेलाई सरेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठक चैत २७ गते मंगलबार बोलाइएको छ । सरकारलाई कांग्रेसले भोलिसम्मको ‘अल्टिमेटम’ दिएको छ । भोलि समिति नबनाए बैठक चल्न नदिने कांग्रेसको अडान छ ।

सत्तारुढ दलले भने कांग्रेसको माग अनुसार समिति गठन नहुने बताउँदै आएका छन् ।