विराटनगर । इलाम २ को आसन्न उपचुनावमा नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट उम्मेदवार नउठाउने भएको छ ।
माओवादी केन्द्रबाट उम्मेदवारका लागि सिफारिसमा परेका धिरेन्द्र शर्मालाई पछि हटाएर माओवादीले एमालेलाई सहयोग गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एमाले उम्मेदवारलाई समर्थन गर्ने सहमति भएकाले सुहाङलाई सहयोग गरेर जान निर्देशन आएको शर्माले बताए ।
उनले भने,‘हिजोसम्म म माओवादी केन्द्रका तर्फबाट उम्मेदवार थिएँ, अब हाम्रो उम्मेदवार सुहाङ हो । गठबन्धन भएका हिसाबले हामी उहाँलाई जिताउन लाग्नेछौं । ’
इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ उम्मेदवार छन् । नेपाली कांग्रेसले भने हालसम्म उम्मेदवार चयन गर्न सकेको छैन ।