बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

सरकारलाई सदनमा बलजफ्ती प्रस्तुत नहुन कांग्रेसको आग्रह

बुधबार, चैत्र २१ २०८०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई सदनमा बलजफ्ती प्रस्तुत नहुन आग्रह गरेको छ ।

जारी बैठकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षको सहमति र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमतिबेगर आकस्मिकरूपमा कुनै प्रस्ताव रोष्ट्रमबाट पेस गर्न खोजे आफूहरू कठोर बन्न बाध्य हुने बताए ।

सरकारले विधेयक लिएर आए सदन चल्छ, सरकार बलजफ्ती गरेर आए सदन नचल्ने उनले चेतावनी समेत दिए ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि छ ।

यस्तै कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

‘राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठककोे आकस्मिक समयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो धारणा राखिरहेका छन् ।