काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन गरेको एक महिना पनि भएको छैन ।
गत फागुन २१ गते आकस्मिक रूपमा प्रधानमन्त्री प्रचण्डले आधा दर्जन असन्तुष्टि सार्वजनिक गरेर कांग्रेससँगको सत्ता सहकार्य तोडेका थिए ।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको नयाँ समीकरण बनाएपछि उनले आफू बाँचुञ्जेल देशमा उथलपुथल हुने बताएका थिए । उनको यो भनाइको अर्थ प्रचण्ड आफ्नो स्वार्थका लागि समीकरण फेरबदलमा रमाउँछन् भन्ने नै हो ।
कांग्रेससँगको गठबन्धन फेरेर अघिल्लो पुस १० गते एमालेसहितको सहयोगमा प्रधानमन्त्री बनेका उनले प्रधानमन्त्री बनेको २ महिना नपुग्दै एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग पुनः गठबन्धन गरेका थिए । फेरि एक वर्ष पुग्दा नपुग्दै उनले एमालेसहितका दलसँग समिकरण गरेर कांग्रेसलाई एक्लाए । प्रधानमन्त्रीको पदका लागि गठबन्धन नफेरेको बताउँदै आएका प्रचण्ड गठबन्धन फेरेर अस्थिरता बनाउनुलाई उथलपुथल गरेर छलाङ्ग मारेको भनेर घमण्ड गर्छन् ।
प्रचण्डका पछिल्ला अभिव्यत्तिलाई मिहिन रुपमा हेर्ने हो भने उनले फेरि केही नयाँ गर्न खोज्दैछन् । या बार्गेनिङका लागि मात्र उनले त्यसो भनेका हुन् । एमाले देखाएर कांग्रेस तर्साउने कांग्रेस देखाएर एमाले तर्साउन उनी निक्कै माहिर छन् । त्यसरी नै तेस्रो दल बनेको उनको पार्टी माओवादी केन्द्र यतिबेला सरकारको नेतृत्वमा छ ।
प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा वान टु वान वार्ता गरेको भोलिपल्टै फेरि उनले अर्को उथलपुथलको कुरा गरेका छन् ।
मंगलबार राति नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला सहितका नेताहरू लिएर देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका थिए ।
त्यसपछि देउवाले बिहीबार बिहान पनि प्रचण्डसँग भेटघाट गरेका थिए । नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच वान टु वान छलफल भएको थियो ।
सिंहदरबार बिहीबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने ‘सुशासन कायम गरेर विकासलाई गति दिने कामलाई पनि भएका छन्। अहिले समीकरण चेन्ज भएको छ। गण्डकीको मुख्यमन्त्रीज्यूले उथलपुथलकारी कदम भनिदिनुभयो। उथलपुथल त मैले भनेको थिएँ। म साँचै भन्छु कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन। त्यो अरूलाई भनेको होइन। मेरै लागि भनेको हो ।
प्रचण्डको यो भनाइ देउवासँगको गोप्य भेटघाट पछि आएको हो । कांग्रेससँगको गठबन्धन टुटेर एमालेसँग जोडिएको नयाँ सत्ता गठबन्धन निर्माण भएको एक महिना नबित्दै राजनीतिक परिस्थिति परिवर्तन हुन थालेको छ । प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति देउवाबीच भेटघाट पनि बाक्लिन थालेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाबीच पनि छलफल भएको थियो । देशको राजनीतिमा उथलपुथल ल्याएर सधैँ शक्तिमा बसिरहने प्रचण्डको आदतमा यी परिघटनाले प्रचण्ड र देउवाबीच फेरि केही पाक्न लागेको आशंका हुन थालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता गठबन्धनले पनि काम गर्न नसके आफू पद ओगटेर बस्ने पक्षमा नरहेको बताएका छन्।
यसैबीच प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । १८ चैत अर्थात् आइतबार बिहान बस्नेगरी प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमाले सहितका दलहरूको सर्वसम्मतिमा विधेयक पास गराउन पहल गर्दै आएका छन् । कांग्रेससँगको समीकरणमा भएपछि प्रचण्डले यसलाई टुटाउँदै २१ फागुनदेखि एमालेसहितका दललाई जोडेका थिए । प्रचण्डले समीकरण बदलेपछि कांग्रेस प्रधानमन्त्रीसँग असन्तुष्ट रहँदै आएको छ । यही असन्तुष्टिपछि पहिलोपटक प्रचण्ड र देउवाबीच एक्लाएक्लै भेटवार्ता भएको हो । उनीहरुबीच भएको वान टु वान वार्तामा के कस्तो सहमति भयो भन्ने विषय बाहिर आएको छैन ।