काठमाडौं। हङकङमा जारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले सहज जीत निकालेको छ । पीएनजीलाई नेपालले ८५ रनले हरायो ।
एक सय ९९ रनको लक्ष्य पाएको पीएनजीले १६.१ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन मात्र बनायो ।
पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका कुशल भुर्तेलले ४ र प्रतिस जिसीले २ तथा गुल्सन झा र आकाश चन्दले एक एक विकेट लिए। कुशलले ४ ओभरमा केवल १२ रन मात्र खर्चिएका थिए।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो ।
शृंखलाअन्तर्गत नेपाल र हङकङबीच भएको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो।
आजै हुने लिग चरणको अन्तिम खेलमा पीएनजीले घरेलु टोली हङकङसँग खेल्नेछ। विजेतासँग नेपाले फाइनल खेल्नेछ । सिरिजको फाइनल बुधबार हुनेछ।