बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आजपनि बस्दै

सोमबार, फाल्गुन २८ २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दैछ ।

शनिबारदेखि सुरु बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको आन्दोलनका कार्यक्रम र कार्ययोजनाको बारेमा बारेमा छलफल भइरहेको छ ।

बैठकका निष्कर्ष सोमबार सार्वजनिक गरिने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

हिजो पार्टीका एक जिम्मेवार नेतामाथि कार्यालयभित्रै भौतिक आक्रमण भएपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिथोलिएको थियो ।

बैठकमा महामन्त्री विक्रम पाण्डे र केन्द्रीय कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठबीच चर्काचर्की भएको थियो ।

बैठक स्थगन गरेर खाना खान निस्कनेक्रममा पाण्डेका समर्थकले श्रेष्ठलाई लखेटेर हातपात गरेका थिए ।

अध्यक्ष लिङ्देनकै कार्यकक्ष बाहिर भएको घटनालाई राप्रपाले संवेदनशीलरूपमा लिएको बताएका थिए । तर, बैठकमा उठेका विषयको बादविवादको कारण हातपात भएको उनले स्वीकार गरेनन् । सत्यतथ्य छानविनका लागि उनले छानबिन समिति बनाउएर अनुसन्धान गर्ने बताएका छन् ।

बिहान बैठक चल्दाचल्दै पाण्डे बाहिर निस्किएका थिए र एक छिनपछि फेरि पसेका थिए । त्यसको केहीबेरमा घटना भएको थियो । बाहिर निस्केर उनले ‘मान्छे बोलाएको’ आशंका छ । तर पाण्डेले भने सो आरोपको खण्डन गरेका छन् । ‘मेरो नाम जोडेर समाचार आएको छ, यस्तो काम मैले कसरी गर्न सक्छु ? मेरो यसमा कुनै पनि हात छैन,’ पाण्डेको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।