काठमाडौं । मन्त्रालयको बाँडफाँट मिलाउन सत्ता गठबन्धनको बैठक बस्दैछ।
बिहान ११ बजेपछि सत्ता गठबन्धनको बैठक बस्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले बैठक बस्ने तय भए पनि समय यकिन नभएको बताए।
उनका अनुसार जसपाको केन्द्रीय कार्यकारिणी कमिटीको बैठक पनि बुधबार बिहान ८ बजे बस्दैछ। बैठकले सत्ता सहकार्यको विषयमा छलफल गर्ने नेता श्रेष्ठले बताए।
‘मन्त्रालयको भागबन्डा टुंगो नलागेकाले सरकारमा को पठाउने भनेर छलफल हुँदैन। पहिलो कसले कति पाउने, गठबन्धनमा कोको आउने टुंगो लाग्नुपर्यो,’ उनले भने।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै एकीकृत समाजवादीसँग पनि छलफल गर्दैछन्।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।
पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न गएका हुन् ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
कांग्रेसले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासमा रहेको बुझिएको छ ।