काठमाडौं । एकाएक सत्ताबाट बाहिरिएको नेपाली कांग्रेस यतिबेला साना दलसँग मिलेर नयाँ गठबन्धन बनाउन पहल गरिरहेको छ ।
यसै शिलशिलामा कांग्रेस सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न कोटेश्वर पुगेका छन्।
बिरामी भएर घरमै स्वास्थ्य लाभ गरिरहेका नेपाल भेट्न देउवासहितका नेता कोटेश्वर पुगेका छन् । नेपाललाई भेट्न देउवा पत्नी आरजु राणा र प्रमुख सचेतक रमेश लेखकसहित माधव निवास पुगेका हुन् ।
यसअघि एकीकृत समाजवादीका अध्यक्ष भेट्न देउवा आउन लागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सन्देश पठाएका थिए।
देउवा साना दलसँग मिलेर नयाँ गठबन्धन बनाउन पहल गरिरहेका छन् । यस अघि रास्वपा सभापति रवि लामिछानेलाई पनि प्रधानमन्त्रीको प्रस्ताव गर्दै कांग्रेसले नयाँ गठबन्धन भत्काउने प्रयास गरेको समाचार बाहिरिएको थियो ।
राजनीतिक समीकरण बदलिएसँगै नेताहरूको दौडधुप जारी छ। यता आजै बिहान प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका छन् ।
मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाल भेट्न कोटेश्वर पुगेका थिए। त्यस लगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता गर्न पुगेका थिए । भलै लिङदेनले सत्ता खेलबाट राप्रपा टाढै रहेको बताएपनि उनीहरु दुई बीचको भेटवार्तालाई वर्तमान सत्ता गठबन्धन भत्काएर नयाँ सरकार बनाउनेमै केन्द्रित रहेको आँकलन गरिएको छ ।