काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीसँग चित्त दुखाएर एमाले छाडेर एकीकृत समाजवादी गठन गरेका माधव नेपालले प्रचण्डसँग फेरि एक पटक चित्त दुखाएका छन् । नेकपा हुँदा ओलीसँग उनले बढी नै चित्त दुखाएका थिए । त्यतिबेला नेपालले भनेका थिए, ‘कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’ स्मरण होस् आफूमाथि अपमान भएको र त्यो सहनगर्ने हदभन्दा बाहिर पुगेको भन्दै उनले आफ्नै पार्टी एमालेको सरकार ढलाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मत दिएका थिए ।
अहिले उनको चित्त दुखाई प्रचण्डसँग छ । हुन पनि किन नहोस् ८ महिना पछि मुखैमा आएको प्रधानमन्त्री पद एकाएक खोसिएपछि उनको चित्त दुख्नु स्वाभाविक पनि हो ।
अघिल्लो पुस १० गते कांग्रेससहितको गठबन्धन छोडेर एमालेसहितको गठबन्धन गर्दा पनि उनले माओवादी अध्यक्ष प्रचण्डसँग आफूलाई कुनै संकेत समेत नगरेको भन्दै चित्त दुखाएका थिए ।
उनको चित्त दुखाइकै कारण मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निजि निवास कोटेश्वर पुगेर मिलेर अघि बढ्न आग्रह गरे ।
गठबन्धनको सहारामा १० सिट जित्न सफल भएको एकीकृत समाजवादी राष्ट्रिय दल समेत हुन भने सकेको छैन । तर यसका अध्यक्ष नेपाल भने राष्ट्रिय दल मात्र होइन आफूलाई नेपालको राजनीतिको किङ मेकर जस्तै सोच्छन् । हरेक राजनीतिक निर्णयमा आफ्नो हिस्सा खोज्छन् । हुन त गएको एक वर्षअघि एमाले माओवादी गठबन्धन भत्किने बेला एकीकृत समाजवादीको अध्यक्ष नेपाल पनि प्रधानमन्त्री कार्यकाल बाँडफाँडमा एक वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको थियो । सायद त्यही सहमति विपरित कांग्रेससँगको गठबनन्धन भत्काएर प्रधानमन्त्री दाहालले एमालेसँग अर्को गठबन्धन गरेपछि उनी विच्किएका हुनसक्छन् । उनले आफू फेरि केहीसमय भएपनि प्रधानमन्त्री बन्न पाउनु पर्ने शर्त तेर्साउन सक्छन् । साथै मन्त्रिपरिषद, प्रदेश मुख्यमन्त्री आदीमा आफ्नो दलको सम्मानजनक उपस्थिति हुनुपर्ने माग राख्ने दाउमा छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड एक ठाउँमा उभिएपछि अध्यक्ष नेपाललाई पनि फर्काउने प्रयास भइरहेको छ।
अघिल्लो दिन बालुवाटारमा चलिरहेको नवगठबन्धन बैठक छोडेर आफ्नो निवासमा आएका प्रधानमन्त्री प्रचण्डसामु नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले तीव्र असन्तुष्टि पोखेका थिए । आफूसँग कुनै सरसल्लाह नगरी सबै निर्णय गरेको र अप्ठेरो परेपछि खोज्दै आएको भन्दै उनी प्रचण्डसँग झोक्किए । प्रचण्डले माधव नेपाललाई थाहै नदिईकन एमाले, रास्वपा र जसपासँग नयाँ सहमति गरेका थिए । भोलिपल्ट चार दलबिच नयाँ गठबन्धन बनेको समाचार आउँदासम्म नेपाल लगायत नेकपा एसका नेताहरुलाई पत्तो समेत थिएन ।
तपाईँ हामीसित सल्लाह नगरी, नसोधी आफूखुसी गर्दै हिँड्ने भन्दै उनी प्रचण्डसँग झोक्किँदै भने।
उनले भनेका थिए, ‘अहिले अप्ठेरो परेपछि हामीलाई खोज्दै आउने ? बिहानसम्म भागबन्डाको कुरा के गर्ने भनेर नभन्ने । कुरा गर्छु, भेट्छु मात्रै भन्ने । अहिले जसपाको भर नभएपछि संख्या पुर्याउन सकस भएर नेकपा एस चाहिने ? यो विल्कुलै वामपन्थी चरित्र भएन ।’
नयाँ गठबन्धन बनाएसँगै एसको समेत साथ खोज्न मंगलबार साँझ ओली र दाहाल अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका थिए ।
जवाफमा अध्यक्ष नेपालले भने नयाँ गठबन्धन गर्दा किन चार दल मात्र सहभागी भएको भन्दै प्रश्न गरेका थिए ।
त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्ना बाध्यताहरू बताएका थिए । ओली र दाहालको प्रस्तावबारे थप छलफल गरेर निर्णय लिने जवाफ अध्यक्ष नेपालको थियो ।
यसैबीच समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । सो बैठकले सरकारमा सहभागीता हुने नहुने भन्ने निर्णय गर्ने बताइएको छ ।