काठमाडौं । सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयकको विषयमा छलफल गर्न आज बिहान ८ बजे का लागि बोलाइएको थियो । तर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वर्तमान गठबन्धनको बैठक स्थगित गरेर पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितका दलहरूको बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।
आइतबार साँझ माओवादीसहित एमाले र रास्वपालगायत दलहरूबीच नयाँ गठबन्धनको विषयमा छलफल भएको थियो ।
अहिले बालकोटमा नेकपा एमालेको आकस्मिक सचिवालय बैठक जारी छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पनि बसिरहेको छ । बिहान ८ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।
उत्ता सत्तारुढ अर्को घटक जसपा पनि पछिल्लो विकसित घटनाक्रमबारे छलफलका लागि तयारी गरिरहेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरूसँग छलफलको तयारी भइरहेको पुष्टि गरे ।