बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गठबन्धनमा खटपट : माहोल बिग्रन नदिने मुडमा देउवा

शुक्रबार, फाल्गुन १८ २०८०

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न मुद्दाहरुका कारण परिस्थिति बदलिएको बतााएका छन् ।

विहिबार चितवनको भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेसको महासमिति बैठकमा उठेका विभिन्न मुद्दाहरु कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा माओवादी उम्मेदवारको हारका कारण परिस्थिति बदलिएको उनको भनाइ थियो ।

शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउन सकिने आफूले केही समयअघि बताएपनि अहिले घटनाक्रम भिन्न तरिकाले अघि बढेको उनले बताए ।

कांग्रेसकै कारण राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी उम्मेदवार पराजित भएको, महासमिति बैठकमा गठबन्धन नगर्ने बहस गर्नुका साथै जनयुद्धबारे अनावश्यक टिप्पणी गरेको उनको आरोप छ ।

तर, प्रधानमन्त्री प्रचण्डले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरुको जोड रहे पनि पार्टीले लिखित रुपमा कुनै निर्णय भने नगरेको समेत बताए ।

उनले भने, ‘सिटौलाजीले शान्ति प्रक्रियामा खेलेको सकारात्मक भूमिका, संविधान निर्माणमा खेलेको भूमिकाको पृष्ठभूमिमा मैले यदि सिटौलाजी आउने हो भने चाहीँ सकारात्मक ढंगले सोच्न सकिन्छ भनेकै हो । तर, त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रमहरु अलि भिन्न ढंगले गए । एउटा त कोशीमा जसरी माओवादीको उम्मेदवार पराजीत हुने स्थिति कांग्रेसकै कारणले भयो । कोशी प्रदेशका हाम्रा नेता तथा कार्यकर्ता र समर्थक पनि आक्रोशित स्थितिमा हुनुहुन्छ । भर्खरै सम्पन्न कांग्रेसको महासमिति बैठकले पनि केही चिज नयाँ, आवश्यक नभएको लाग्छ हामीलाई, गठबन्धन राम्रै गइराखेको थियो ।’

यद्यपि अहिले पनि आफूहरु गठबन्धनकै पक्षमा रहेको बताएपनि उनको भनाइले गठबन्धनमा खटपट सुरु भएको सहजै अनुमान लगाउन सकिन्छ। प्रचण्डको भनाइबाट सत्ता गठबन्धनमा खटपट बढेको देखाएको छ ।   प्रचण्डले चितवनमै एमालेसँग राष्ट्रियसभा अध्यक्षाबारे विभिन्न स्तरमा कुराकानी भएको खुलाएपछि गठबन्धनको भविष्यबारे थप आशंका चुलिएको छ ।

कांग्रेस महासमिति बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति पत्रमा माओवादीप्रति प्रयोग गरेको शब्द हुँदै राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारसम्मका विषयले गठबन्धनबीचको बढ्दो दुरी देखाउँछ।

माओवादीको पछिल्ला बैठकमा अधिकांश पदाधिकारीले वर्तमान गठबन्धनको प्रमुख दल कांग्रेसबाट पटक पटक धोका पाएको र आगामी चुनावमा तालमेल नगर्ने निर्णय भएको हुँदा विकल्पमा जानुपर्ने बताएका थिए ।

माओवादीका वर्षमान पुन लगायतका नेताहरू गठबन्धनकै विकल्प सोच्नुपर्ने पक्षमा पहिलेदेखि नै उभिएका छन्।

मन्त्रिपरिषद पुनर्गठनको हल्ला

राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने माओवादी निर्णयले झस्किएको कांग्रेस गठबन्धनमा माहोल बिग्रन नदिन चाहान्छ । विशेषत त्यसको लबिङका लागि उपसभापति पूर्णबहादुर खड्काले पहल कदमी लिएका छन् ।

प्रधानमन्त्री र अर्थमन्त्री प्रकाशशरण महतबीच भएको खटपटलाई कम गर्न बरु अर्थमन्त्री र गृहमन्त्री साटफेर गरेरै भएपनि माहोल थप विग्रन नदिन सभापति शेरबहादुर देउवा नै तयार भएको एक नेताले बताए ।

गठबन्धनमा देखिएको विवाद मिलाउन सत्तारुढ अर्को घटक नेपाली कांग्रेस प्रधानमन्त्रीको चाहाना मुताविक मन्त्रिपरिषद पुनर्गठन गर्न तयार भएको स्रोतका दाबी छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मन्त्रीबीच पुरै टिम नै फेरबदल गर्ने र राष्ट्रिय सभा अध्यक्षका विषयमा पनि एक किसिमको समझदारी जुटेको एक नेताले बताए ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पठाएको उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको टिमबीच बुधबार छलफल भएको थियो । एक दुई दिनभित्रै दुबै दलमा छलफल गरेर नयाँ मन्त्रीको नाम पठाउने सहमति नजिक रहेको उनले बताए ।

गठबन्धनमा देखिएका दरार समाधान गरिने : अध्यक्ष नेपाल

सत्तारुढ अर्को घटन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।

बिहीबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले भने “गठबन्धनमा त्यस्तो कुनै प्रश्न खडा भएको छैन । गठबन्धन धर्मराएको पनि छैन । बलियो जगमा उभिएको छ ।”

धेरै राजनीतिक दल गठबन्धनमा रहेकाले सामान्य समसया आउने उल्लेख गर्दै अध्यक्ष नेपालले ती समस्याको समाधान खोजिने बताए। देखिएका समस्याको छलफलबाट उपाय निकालिने उनको भनाइ थियो । गठबन्धनमा देखिएका दरारलाई समाधान गर्दै अघि बढ्ने नेपालको भनाइ थियो ।