बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सशस्त्र प्रहरीद्धारा चन्द्रगिरी केबलकारमा उद्धार अभ्यास

बिहिबार, फाल्गुन १७ २०८०

काठमाण्डौँ – सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाण्डौँको आयोजना र चन्द्रागिरी हिल्स प्रा.लि.को सहकार्यमा सञ्चालित ३ दिने चन्द्रागिरी केबलकारमा कृतिम घटनाक्रममा आधारित आपतकालिन उद्धार अभ्यास सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथी सशस्त्र प्रहरी बल पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम थापा, बिशिष्ट अतिथी चन्द्रागिरी हिल्सका कार्यकारी निर्देशक अरुण प्रधान, लगायत काठमाण्डौँ उपत्यका प्रहरी कार्यालयका प्रतिनिधि, उपत्यका स्थित स.प्र.बल, नेपालका गणहरु तथा गुल्मका प्रमुखहरु, स्थानीय जनप्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।

उक्त उद्धार अभ्यासमा सशस्त्र प्रहरी पशुपतिनाथ बाहिनीको तर्फबाट सशस्त्र प्रहरी नायव उपरीक्षक कमल बहादुर अधिकारीको कमाण्डमा विपद् ब्यवस्थापन तालिम प्राप्त २६ जना र चन्द्रागिरी हिल्सको तर्फबाट मेकानिकल ईन्जिनियर मधुकर बलामीको कमाण्डमा ८ जना गरी जम्मा ३४ जना उद्धारकहरु सहभागी हुनु भएको थियो ।

यस कार्यक्रमको उद्धेश्य नेपालमा उदयीमान केबलकार प्रविधिमा हुन सक्ने जुनसुकै आपत्तकालीन अवस्थामा उद्धार तथा ब्यवस्थापनको लागी सशस्त्र प्रहरी नेपाल र केबलकार सञ्चालकहरुवीच आ-आफ्नो मानव संसाधन, स्रोतहरुको अवस्था, सामार्थ्य एवं दुई संस्थाहरुवीचको सहकार्यलाई प्रभावकारी बनाउदै समग्र केबलकार प्रबिधिलाई पूर्णत: सुरक्षित बनाउनु रहेको थियो। Simulation अभ्यासमा दुई वटा फरक-फरक आपत्‍कालीन अवस्थाको परिकल्पना गरी माथिबाट तल तर्फ र माथिबाट दाँया वा बाँया सुरक्षित स्थान तर्फ क्याविनमा सवार यात्रुहरुलाई Rope Rescue प्रबिधिको प्रयोग गरी उद्धार गर्ने प्रविधिहरुको प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुँदै चन्द्रागिरी हिल्सका कार्यकारी निर्देशक अरुण प्रधानले सशस्त्र प्रहरीले हालका दिनहरुमा विपद् ब्यवस्थापनको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुका साथै यस Simulation अभ्यासले आगामी दिनमा हुन सक्ने केबलकार आपत्‍कालिन अवस्थामा उद्धार तथा ब्यवस्थापन गर्न दुई संस्था बिचको क्षमता अभिबृद्धी भएको उल्लेख गर्नु हुँदै उद्धारमा खटिएका उद्धारकर्मीहरुको प्रशंसा गर्नु भएको थियो। उक्त कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु हुँदै सशस्त्र प्रहरी बल पशुपतिनाथ बाहिनीका बाहिनीपति महानिरीक्षक पुरूषोत्तम थापाले नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले पछिल्लो समयमा BIRD (Border Security, Internal Security, Revenue Support, Disaster Management) अवधारणालाई प्राथमिकतामा राखेको र यसै अन्तर्गतको एउटा कार्य Disaster Management लाई थप प्रभावकारी बनाउँदै लैजाने संगठनको नीति अनुरुप सरोकारवाला जुनसुकै निकायसंग समन्वय र सहकार्य गरी विपद्‍बाट हुने जोखिम तथा क्षति न्युनिकरण गर्नको लागी सशस्त्र प्रहरी बल, नेपाल सदैव तत्पर रहेको प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।