चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि ठेक्का आह्वान गरेको छ ।
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो ।
निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हो। ठेक्का आह्वानको म्याद एक महिना राखिएको छ ।
महानगर र बागमती प्रदेश सरकारको लागत साझेदारीमा रंगशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयोग जुटाएर निर्माण गरिरहेको रंगशालाको लागि आर्थिक अभाव भएपछि रंगशालाको काम रोकिएको थियो ।
फाउण्डेशनले निर्माण सामाग्रीको करिब १८ करोड रूपैयाँ उधारो रहेको बताएको छ ।
भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१ औं दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ ।