काठमाडौं । संसद् भवनभित्र छिरेर नारावाजी गर्ने क्रममा पक्राउ परेका लघुवित्त पीडितहरू प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पहलमा रिहा भएका छन् ।
सोमबार नारा लगाउँदै संसद् परिसरबाहिर पुगेका लघुबित्त पीडितहरू संसद् परिसरभित्र छिरेर नारावाजी गर्ने क्रममा पक्राउ परेका थिए ।
पक्राउ परेकालाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको थियो । तर प्रमुख प्रतिपक्ष दल एमालले उनीहरूलाई बिना शर्त रिहा गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण गरेको थियो । उनीहरू बुधबार राति रिहा भएका हुन् ।
संसद् भवनप्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बुधवार नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले संसदीय दलका सचेतक महेश बर्तौलालगायत एमाले संसदीय दलको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेट गर्दै यस्तो ध्यानाकर्षण गराएको हो।
उनीहरुलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले लघुवित्त पीडितहरू न्यायको लागि आन्दोलनरत रहेका समेत बताएका थिए ।
देशभरबाट आन्दोलनका लागि काठमाडौं भेला भई लघुवित्त पीडितहरू संसद् बैठक चलिरहेको बेला उनीहरू त्यहाँ पुगेर नाराबाजी गरेका थिए ।