काठमाडौं । भजन शिरोमणी भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधि पाएका उनको सोमबार अपराह्न ८१ वर्षको उमेरमा निधन भएको हो ।
वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो। अचानक अक्सिजनको मात्रा घटेपछि उनलाई अस्पताल लगिँदै थियो ।
आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने छ । स्वर्गिय आचार्यको राष्ट्रिय सम्मानका साथ बिदाइ गरिने तयारी छ ।
भजन शिरोमणिका उपनामले चिनिने नेपाली गीतसङ्गीत जगतका अनन्त तारा उनको जन्म वि.सं. १९९९ साल असोज १६ मा धनकुटामा जम्म भएको थियो । तर उनको बाल्यकाल भारतको डुवर्समा वित्यो । सानैदेखि गायनमा रुचि राख्ने भक्तराजले त्यहीँ शास्त्रीय संगीतको अभ्यास गर्न थाले। विभिन्न सांगीतिक कार्यक्रममा हिन्दी र बंगला भाषाका गीत गाउन थाले।
२०२० सालमा भक्तराज भारतबाट नेपाल फर्के। विष्णुप्रसादको रचना र आफ्नै स्वररसंगीतमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरे। तर, उनलाई रेडियोमा गीत रेकर्ड गर्न भने दिइएन। त्यसपछि उनी डुवर्स नै फर्किए।
२०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए। पछि जिब्रोमा भएको क्यान्सका कारण उनको बोलीमा पनि समस्या आएको थियो ।
थुप्रै भजन गाइसकेका भक्तराजका धेरै कालजयी गीतहरू नेपालीका जिब्रो छन्। उनका एकदिन मैले प्रभुसँग सोधेँ, तन मन बचनले प्रभु नाम गाउँ, सब निदाए प्रभु, लौन अब मेरो प्रभु लगायत दजनौं भजन लोकप्रिय छन् । त्यस्तै सयौं गितमा संगित भर्नुका साथै उनका जीवन भनुँ त घात छ, मुटु जलिरहेछ, यो मन गलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, सबै बेहोसी नशा पिएरलगायत सयौं कर्णप्रिय गित आज पनि चर्चित छन् ।
स्वर्गिय आचार्यले भजन शिरोमणि, पद्मश्री पुरस्कार, गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट (पहिलो), वीरेन्द्र–ऐश्वर्य सेवा पदक, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय सङ्गीत सम्मान २०७५ लगायत थुप्रै लाईफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् ।
वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति राष्ट्रपतिदेखि विभिन्न उच्च पदस्त व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध आचार्यको निधनको खबरले आफू स्तब्ध भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि वरिष्ठ गायक आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले ‘जहाँ छन् बुद्धका आँखा…’ बोलको गीतमा आचार्यको जादुमय स्वर भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । “कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ । तीन वर्षअगाडिको उहाँसँगको भेट सम्झिरहेको छु” अध्यक्ष ओलीले उनले गायक तथा सङ्गीतकार आचार्यलाई सम्झिदै भनेका छन् ।