मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

सङ्क्रमणकालीन विधेयक सदनबाट छिट्टै पारित हुन्छ

शुक्रबार, फाल्गुन ११ २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनबाट छिट्टै पारित हुने बताएका छन् ।

२३ औं मजदुर बलिदान दिवसका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उपसमिति र समिति हुँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको र पीडितलाई न्याय हुने गरी कानूनको टुङ्गो लाग्ने बताएका हुन् ।

जनयुद्धका सहिदहरूलाई राज्यबाट दिइने सेवा सुविधा लगायतका सबै विषय विधेयकमा समेटिएको भन्दै प्रचण्डले सबैको न्यायोचित सम्मान हुने धारणा राखे ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएपछि सबैले गरेको बलिदानको उच्च मूल्याङ्कन हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी कुरा टुङ्गिएपछि जनयुद्ध दिवसको बिदा हुने विश्वास व्यक्त गरे ।

उनले मजदुरहरू आन्दोलित नभएको भए मुलुकको परिवर्तन असम्भव रहेकाले मजदुर बलिदानी दिवसको निकै महत्त्व रहेको बताए।