काठमाडौं । नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको महासमितिको बैठक विहिबार सकिएको छ ।
बैठकले छलफलबाट प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम रुप दिने गरी महत्वपूर्ण तीन प्रस्ताव सर्वसम्मतिले पारित गरेपनि विवाद फेरि केन्द्रमा थुप्रिएको छ ।
महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावहरुले कांग्रेसको नीति, साङ्गठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको छ ।
बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यबाट महत्वपूर्ण सुझाव प्राप्त भएको कांग्रेसका प्रचारप्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए । प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जनसहित अन्तिम रुप दिने गरी उक्त तीन वटै प्रस्ताव महासमितिको बैठकले सर्वसम्मतिले पारित गरेको उनले बताए ।
साथै बैठकले प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशसरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित ग्रहण गर्नुका साथै लेखासमितिका संयोजक श्यामप्रसाद घिमिरेले प्रस्तुत गरेकोलेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ ।
महामन्त्री गगन थापाले आगामी निर्वाचनमा आफ्नै ताकतमा एक्लै लड्ने र गठबन्धन नगर्ने प्रस्ताव ल्याएका थिए । तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन रणनीति विषय भएकाले यसबारे अहिले निर्णय गर्न आवश्यक नरहेको प्रस्ताव पेस गरेका थिए ।
सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेता गठबन्धनबारे अहिले निर्णय लिन आवश्यक नरहेको पक्षमा थिए । यसैका आधारमा महासमिति बैठकमा सुझाव दिनेहरूले गठबन्धनबारे तत्कालीन आवश्यकताका आधारमा निर्णय लिन सुझाएका छन् । महासमिति बैठकका सुझावका आधारमा केन्द्रीय समितिबाट निर्णय हुनेछ, जहाँ दुवै पक्षले आफ्नो प्रस्तावअनुकूल निर्णय गराउन पहल गर्नेछन् ।
कांग्रेस महासमिति बैठकमा तनाव
महासमितिको अन्तिम दिनको बैटकमा बागमतीका सभापति इन्द्र बानियाँले संयुक्त छलफलपछि निष्कर्ष सुनाउने क्रममा तनाव भएको थियो । गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई लिएर चुनावी गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा विवाद भएको थियो ।
बानियाँले गण्डकी र बागमती प्रदेश समूहमा भएको छलफलको निष्कर्ष पेस गर्न सुरु गरेसँगै हलमा महामन्त्री थापा समर्थकले नाराबाजी गरेका थिए।
बानियाँले गठबन्धनको विषय रणनीतिकमात्रै हुनुपर्ने बताएका थिए । महामन्त्री विश्वप्रकाश शर्माले माहोललाई शान्त बनाउन प्रयास गरे पनि गगनको प्रस्तावअनुसार अघि बढिनुपर्ने भन्दै समर्थकहरूले नाराबाजी गरेका थिए। गगनको प्रस्ताव पास हुनुपर्ने भन्दै नाराबाजी भएको थियो ।
१०६३ जनाको हस्ताक्षरसहित हिन्दूराष्ट्रको प्रस्ताव पेश
कांग्रेसको महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ ।
सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो ।
अभियानका संयोजक शंकर भण्डारीले केही समयअघि महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरे । भण्डारीले प्रस्तावको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका थिए।
शान्ति प्रक्रियाका वाँकी काम, सङ्क्रमणकालीन न्यायका विषय चाँडै टुङ्ग्याउँने प्रतिवद्धता जाहेर गर्दै बैठकले कांग्रेसको उपस्थितिमा निर्माण भएको गठबन्धनलाई निरन्तरता दिई वर्तमान सरकारमार्फत भ्रष्ट्राचार, बेथिती र विसङ्गतिका विरुद्ध वैधानिक रुपमा अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्दती स्थापित गर्न सम्पूर्ण रुपले अठोट गर्दै अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतिलाई समाधान गर्ने जिम्मेवारी बोध गरेको छ ।
त्यस्तै बैठकले मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैङ्गिक विभेद र हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिवद्धता गर्दै तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि नेतृत्वदायी भूमिकाप्रति सचेत रहने दृढ सकङ्ल्प व्यक्त गरेको छ । किसान, सहकारी वचतकर्ता, मीटरव्याज र लघुबित्त पिडितहरुले भोग्दै आएका पीडालाई अविलम्व समाधान गरी पिडितलाई न्याय दिलाउँन सरकारको ध्यानाकर्षण गराउने महासमिति बैठकको निष्कर्ष छ ।
‘राजनीतिक स्थायीत्व, रुपान्तरण नविनता स्वतन्त्रता, न्याय र समानता, कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने नाराका साथ प्रारम्भ भएको बैठकबाट हासिल नविन उर्जालाई सम्पूर्ण एकताका साथ सङ्गठन निर्माण र विस्तारमा जुट्दै नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिवद्धतासहित बैठक सम्पन्न भएको जनाइएको छ । तर हिन्दु राष्ट्रलगायतका पुराना र नयाँ विवादको टुंगो लगाउने जिम्मा केन्द्रीय समितिलाई थुपार्दै बैठक सकिएको छ ।
महासमिति बैठक सम्बन्धी विस्तृत जानकारीका लागि आज दिउँसो ३ बजे कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिने संयोजक विश्वकर्माले जानकारी दिए ।