काठमाडौं । व्यवसायी ज्ञानेन्द्र खड्काले नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले अपहरण गरी फिरौती लिएको आरोप लगाएका छन् ।
व्यवसायी खड्काले आफूलाई लामा र सहदेव कक्षपति लगायतले अपहरण गरी करौडौंको फिरौती रकम कागज गराएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन् ।
तर, जग्गा विक्रीवापतको पैसा माग्न थालेपछि आफूविरुद्ध अपहरणको आरोप लगाइएको लामाले प्रतिवाद गरेका छन् । यता जग्गाको मूल्यांकन पनि खड्काले नै गरेको र त्यही मूल्यअनुसार कागज गरिएको लामाको भनाइ छ । आफैँले गरेको कागजको दायित्वबाट उम्किन खड्काले अपहरणको आरोप लगाएको गणेशले दाबी गरेका छन् ।
लामाले ३० असोज २०७१ मा व्यवसायी ज्ञानेन्द्र खड्काले जग्गा पास गरिदिन भनेको तर, यत्तिका वर्षसम्म पैसा नदिएको भन्दै आफूविरुद्ध गलत आरोप लगाएको जिकिर गरे । उनले भनेका छन्- ज्ञानेन्द्रले ‘यो जग्गा मलाई पास गरिदिनुस्, ३ महिनापछि पैसा दिन्छु’ भनेपछि आफूले २०७१ असोज ३० गते ज्ञानेन्द्रकी श्रीमती नानीमैयाँ कार्कीको नाममा जग्गा पास गरिदिएको लामाले बताए । जग्गा पास गरेको ९/१० वर्षसम्म पनि ज्ञानेन्द्र सम्पर्कविहीन भएर बसेको उनको भनाइ छ । डेढ/दुई महिना अगाडि ज्ञानेन्द्रसँग जम्काभेट हुँदा उनैले जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरिएको नेता लामाको दाबी छ । उक्त जग्गा अहिले पनि ज्ञानेन्द्रकी श्रीमतीको नाममा रहेको उनले बताए ।
ई–कर्मस वेवसाइट ग्यापु डटकमका सञ्चालक रहेका ज्ञानेन्द्रले भने आफूलाई लामासहितको समूहले अपहरण गरेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी समेत दिएका छन् ।
कांग्रेस नेता लामाको विवादित पृष्ठभूमिका कारण सर्वसाधारणलाई झट्ट सुन्दा साँच्चै नै ज्ञानेन्द्र अपहरणमै परेकी भन्ने लागेपनि यसको यथार्थ अलि फरक छ । पहिलो कुरा त ज्ञानेन्द्रले उक्त जग्गा खरीद गर्नेसम्मको सम्पत्तिको स्रोत के हो ? त्यसको पनि छानविन आवश्यक छ ।
सामान्य आर्थिक हैसियतका खड्का पछिल्लो समय नेपालमा प्रतिबन्धित विटक्वाईन र क्रिप्टो करेन्सीको कारोबार गर्दै अथाहा सम्पत्ति आर्जन गर्नुका साथै नेपालमा भन्दा विदेशमा नै धेरै बस्दै समेत आइरहेको चर्चा छ ।
यस्तो थियो पछिल्लो घटनाक्रम
खड्काले मिति २०७१ असोज ३० गते काभ्रे जिल्ला धुलिखेल मालपोत कार्यालयबाट धुलिखेल नगरपालिका वडा नं. ४ को कित्ता नं. ५२ को २–७–३–१ क्षेत्रफलको जग्गा खड्काकी श्रीमती नानी मैंया कार्कीको नाममा छ ।
अरनिको राजमार्गसँग जोडिएको उक्त जग्गा किनेबापतको पैसा तिर्नका लागि खड्काले लामासँग केही समयको भाखा मागे पनि उक्त रकम नतिरी सम्पर्कबिहीन रहेका थिए । त्यसपछि उनले लामासँग सम्पूर्ण सामाजिक सञ्जालका साथै अन्य माध्यमबाट पनि सम्पर्कविच्छेद गरेर विदेश गई लामोसमयसम्म सम्पर्कबिहीन भएका थिए ।
लामो समयपछि खड्कालाई भेटेका लामाले उक्त जग्गाबापतको पैसा मागे । हालको चलनचल्ती र त्यतिबेलाको मूल्यको मध्यभागमा रहेर करिब ४० आना जग्गाको २० करोड रुपैयाँ मूल्य कायम गरी खड्काले राजीखुशीले कागज गरेका थिए । पछिल्लो समय १० लाख रूपैयाँभन्दा बढीको कागजात वडामा गएरमात्र प्रमाणित गर्नुपर्ने कानुनी प्रावधान अनुसार दुवै पक्ष गएर वडाको रोहबरमा सही छाप गर्नुपर्ने व्यवस्था रहेकोले सोही अनुसार दुवै गएर मिति २०८० साल पुस २४ गते वडा कार्यालयमा दुवै जना (तिर्नुपर्ने र लिनुपर्ने) गएर वडाको रोहबरमा प्रमाणित समेत गरिएको छ ।
तिर्नुपर्ने पैसा नतिरी कागज गरिसकेपछि अहिले पछिल्लो समय नतिर्नकै लागि र केन्द्रीय सदस्य लामाको बदनाम गराउने उद्देश्यले खड्काले उक्त कार्य गरेको खुलेको छ । जग्गाको मूल्यांकन पनि खड्काले नै गरेको र त्यही मूल्यअनुसार कागज गरिएको लामाको भनाइ छ । आफैँले गरेको कागजको दायित्वबाट उम्किन खड्काले अपहरणको आरोप लगाएको गणेशले दाबी गरेका छन् ।
लामाको प्रष्टोक्ति
गणेश लामाले बुधबार साँझ रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथिको आरोप राजनीतिक चरित्र हत्या गर्नका लागि कसैको उक्साहटमा परेर लगाइएको हुनसक्ने आशंका व्यक्त गरे ।
उक्त विषयमा अहिले छानविन भइरहेको बताउँदै नेता लामाले दोषी ठहरिए आफू कानूनबमोजिमको सजाय भोग्न तयार रहेको बताए । ज्ञानेन्द्र र आफूले विगतमा साझेदारी व्यवसायसमेत गरेको उनले खुलासा गरे । आफ्नी श्रीमती र ज्ञानेन्द्रकी श्रीमतीको नाममा दर्ता कायम रहेको ट्राभल कम्पनी अहिले पनि रहेको उनको दाबी छ ।
ज्ञानेन्द्रले प्रहरीमा गएर उजुरी दिएको अवस्थामा मिडियामा आएर प्रचारबाजी गरेको भन्दै उनले आपत्ति जनाए । कारोबारको कुरालाई लिएर आफ्नो चरित्रहत्या गरिएको उनको भनाइ छ । ०७१ सालमा आनाका २५ लाखका दरले धुलिखेल चोकको जग्गा आफूले पास गरिदिएको उनले बताए । पैसा नतिर्ने नियतले आफूमाथि अपहरणको आरोप लगाइएको हुनसक्ने उनले आशंका व्यक्त गरे ।
ज्ञानेन्द्रले पाट्नरसिपमा काम गरिरहेको अवस्थामा ‘बैंकको कारोबार मिलाएर लोन लिन्छु र तपाईँलाई पैसा दिन्छु’ भनेपछि तत्कालीन समयमा जग्गा पास गरिएको नेता लामाले बताए । जग्गा पास गरेको केही समयबाट ज्ञानेन्द्र सम्पर्कविहीन भएपछि अपराध अनुसन्धान महाशाखामा आफूले निवेदनसमेत दिएको उनको भनाइ छ ।
नेता लामाले ज्ञानेन्द्र आफैंले क्रिप्टो र विट्क्वाईन कारोबार गर्छु भनेर स्वीकार गरेको बताए । आफू उनीसँग त्यस प्रकारको कुनै कारोबारमा संलग्न नरहेको बताए ।