मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

देउवा-गगन वार्ता निष्कर्षविहीन, शर्माको प्रस्तावमा पनि असन्तुष्टि

सोमबार, फाल्गुन ७ २०८०

काठमाडौं । महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।

चुनावअघि गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत नभएपछि मिलनबिन्दु खोज्न दुई नेताबीच छलफल फेरि निष्कर्षविहीन बनेको हो ।

सभापति देउवा र महामन्त्री थापा सोमबार बिहानैदेखि बूढानीलकण्ठमा छलफलमा बसेका थिए। महामन्त्री थापाको प्रतिवेदनलाई डा. शेखर कोइरालासहित इतर पक्षका नेताहरूले समर्थन जनाएका छन् ।

स्रोतले भन्यो, ‘अहिलेसम्म कुनै सहमति भइसकेको छैन । छलफलकै क्रममा छ । अब महासमिति बैठक उद्घाटपछि बेलुका या भोलि बिहान फेरि बस्छ ।’

उक्त छलफल निष्कर्षविहीन बनेको र महासमिति बैठकको उद्घाटन सत्रपछि फेरि बस्ने तय भएको एक नेताले बताए।
शनिबार, आइतबार पनि सोही विषयमा छलफल भएपनि सहमति हुन सकेको थिएन ।

भविष्यमा हुने आवधिक निर्वाचनहरुमा निर्वाचन पूर्वगठबन्धन नगर्ने संकल्प गर्ने उल्लेख छ । अबदेखि गठबन्धन नगर्ने भनेर महासमितिमै छलफल गर्दा त्यसको असर गठबन्धनमा परेर गठबन्धन टुट्न सक्छ भन्ने डर सभापति देउवालाई छ ।

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा पनि देउवाको असन्तुष्टि छ। उनले शर्माले प्रस्तावमा उल्लेख गरेको कोशी प्रकरणको प्रसंग हटाउनुपर्ने बताएका छन्। यद्यपि आजको छलफलमा महामन्त्री शर्मा भने सहभागी थिएनन्।