मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेता गगन पुरी दोषी ठहर

सोमबार, माघ २९ २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी (गगन) सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन् ।

आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । माओवादी केन्द्र कोशी प्रदेश समितिका कोषाध्यक्ष उनलाई सजाय निर्धारणका लागि ६ फागुनमा पेसी तोकिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो । गगनसँगै उनकी श्रीमती सीमाको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएकोले दुवै जना सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर भएका हुन् ।

दुवैका हकमा सजाय निर्धारण हुन बाँकी छ। फागुन ६ गते सजाय निर्धारण हुने छ।

दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

विभागले पुरीसमेत ६ जनालाई प्रतिवादी बनाउँदै २१ माघ ०७७ मा मुद्दा दायर गरेको थियो । प्रकरणमा मनमाया पुरी र देवकुमारी पुरीले सफाइ पाएका छन् । कृष्णकुमारी पुरी र सं‌गीता पुरीको नामको जग्गा जफत नहुने फैसला भएको छ ।