काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई लिएर विवाद सुरु भएको छ ।
सोमबार पार्टीको केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले जबज त्याग्नुपर्ने धारणा राखे । त्यसपछि लगत्तै बैठकलाई सम्बोधन गरेका अध्यक्ष नेपाले कुनै पनि हालतमा जबज त्याग्न नसकिने बताए । जबजको पेटेन्ट राईट नै आफूहरुसँग रहेको धारणा उनले राखे ।
‘कहिले हामी जबज भन्छौं, कहिले हामी समाजवाद पनि भन्छौं । कता जाने त ? जबजै तपाईँ भन्नुृहुन्छ भने त ठूलो जबजतिर किन नजाने भन्छ नि मान्छेले । ठूलो जबज त एमाले छ । हामीले जबज भन्ने हो भने त हामीले भनेको सुन्नेभन्दा उता केपीले भनेको बढ्ता सुन्छ । त्यो खतरा हुन्छ । हामी क्लियर हुनुपर्छ । अनिमात्रै हामी समाजवादको बाटोमा जान्छौं … जबजको बारेमा किन लेलिनले जबज मान्नु भएन ? यसमा बहस गरौं । यी कुराहरुमा गहन ढंगले अध्ययन गर्न म आग्रह गर्न चाहन्छु,’– नेता खनालले भने ।
उनले कम्युनिष्ट आन्दोलनमा भएको कमजोरीलाई सच्याएर पुनर्गठित पार्टीको रुपमा अगाडि बढाउनुपर्ने बताए ।
नेता खनालको उक्त भनाइको जवाफ दिँदै अध्यक्ष नेपालले भने, ‘जनताको बहुदलीय जनवादले हाम्रो पार्टीलाई नयाँ उचाइमा पुर्याएको छ । यसलाई हामीले छोड्यौं भने यो पार्टीले आफ्नो इतिहास गुमाउने छ । यो पार्टीको पहिचान समाप्त हुनेछ । २०५९ सालमा पाँचौं महाधिवेशन गर्दा निकै बहस गरेका थियौं । यसको आवश्यकता र महत्वका बारेमा परिचर्चा भएको थियो । यो काम नलाग्ने कुरा हो भनेर पनि बहस भएको थियो । तर, व्यवहारले देखायो जबज अबलम्बन गरेपछि हाम्रो पार्टीले विश्वको कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ सन्देश दियो … समाजवादमा जाँदाखेरी, समाजवादी क्रान्ति अबलम्बन गर्दाखेरी जनताको बहुदलीय जनतवादलाई त्याग्न सकिँदैन । त्याग्नुको मतलब एक दलीय तानाशाहीमा जानु हो । हामी बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौं । त्यसको पेटेन्ट राइट हामीसँग छ ।’
यी दुई नेताका कुरा सुन्दा छिट्टै नेकपा एसभित्र भुईँचालो जाने संकेत देखिन थालेको टिप्पणी हुन थालेको छ ।
विधानको प्रस्तावमा नै असहमति जनाएका नेता खनालले जनताको बहुदलीय जनवाद छाड्न नसकिने भन्दै अध्यक्ष नेपालले दिएको अभिव्यक्तिमाथि कडा जवाफ फर्काएका थिए । यसले पनि यी दुई नेता एक पार्टीमा रहे पनि एकमत हुन नसकेको संकेत दिन्छ ।
हट्याे उमेरहद
नेकपा एसले पार्टीमा उमेरहद हटाएको छ । यअसघि राखेको ७० वर्षे उमेरहदको प्रावधान हटाएको छ । उमेरहद हटेसँगै अब पार्टी नेतृत्वका लागि अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच पार्टी नेतृत्व लिन बाटो खुला भएको छ ।
बैठकले केन्द्रदेखि तल्लो तहसम्मका कमिटीका पदाधिकारी र सदस्यहरू सबै प्रत्यक्ष निर्वाचित हुने व्यवस्थासहित विधान पनि संशोधन गरेको छ ।
समाजवादीले अब केन्द्रीय कमिटी १९९ जनाको हुने निर्णय पनि गरेको छ । समाजवादीले केन्द्रीय पदाधिकारीको १९ सदस्यीय हुने पनि जानकारी दिएका छन् ।
समाजवादीले प्रदेश कमिटी ७५ देखि ९९ सदस्यीय बनाउने गरी विधानमा व्यवस्था गरेको छ। प्रदेश कमिटी पदाधिकारी ७ सदस्यीय हुने गरी व्यवस्था गरेको छ ।
यस्तै जिल्ला कमिटी ५५ सदस्यीय हुने भएको छ भने जिल्लाका पदाधिकारी पनि ७ जनाको कायम गरिएको छ ।
समाजवादीको गाउँरनगरपालिका कमिटी ४५ सदस्यीय हुने गरी व्यवस्था गरिएको छ । कुनै पालिकामा ५ भन्दा धेरै वडाहरू भएको अवस्थामा २ जना थप्दै लैजाने गरी विधानमा समाजवादीले व्यवस्था गरेको छ ।