मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सुदूरपश्चिम संसदीय दलको नेता हटाउने निर्णय सच्चाउन माओवादीको निर्देशन

आइतबार, माघ १४ २०८०

कैलाली । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ ।

शनिबार बसेको प्रदेश अध्यक्ष हरिराम चौधरी(उत्सव) को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

धनगढीमा बसेको उपलब्ध पदाधिकारीको बैठकले पार्टीको विधि विपरीत र केन्द्रीय कार्यालयको निर्देशन समेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै तत्काल उक्त निर्णय सच्चाउन निर्देशन दिने निर्णय गरेको हो ।

‘यहि मिति २०८० माघ १२ गते नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कलबहादुर रावलको अध्यक्षता बसी दलनेता परिर्वतन र सरकार परिर्वतन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्णयमा भनिएको छ, ‘हाम्रो पार्टी परम्परा,विधिविपरीत केन्द्रीय निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारीताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौं कार्यकर्ताको मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।’

शुक्रबार बसेको माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका बहुमत सांसदको बैठकले भट्टलाई हटाएर दलको नेतामा मानबहादुर धामीलाई बनाउने निर्णय गरेको थियो । पटकपटक सचेत गराउँदा पनि जनताका पक्षमा काम गर्न नसकेकाले शीर्ष नेतृत्वसँगको छलफलपछि यो निर्णय गरेको माओवादी केन्द्रले जनाएको थियो ।

संसदीय दल र प्रदेश सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको कारण देखाउँदै उनीहरुले यसअघि गत २१ पुसमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै दल नेता र मन्त्री फेर्नुपर्ने आग्रह गरेका थिए ।

सरकारको कार्यसम्पादन, माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरू कार्यक्षमता र दलका नेता भट्टको कार्यशैलीलाई लिएर राज्यमन्त्रीसहित ७ जना प्रदेश सांसदले पुस २१ गते नै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित पत्र बुझाएका थिए ।