एनएमबि बैंकले २८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकको काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न साधारण सभाबाट संस्थापक सेयरधनीको तर्फबाट सञ्चालकमा मनोजकुमार गोयल र जीवनकुमार कटवाल निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनीको समूहबाट सञ्चालकमा उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।
यसैगरी एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दी प्रकाशलाई मनोनित गरी पठाएकोबारे साधारण सभामा जानकारी गराइएको थियो । एनएमबि बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको सभापतित्वमा भएको साधारण सभामा सञ्चालक र सेयरधनीहरुको उपस्थिति रहेको थियो । २०८० असारसम्म बैंकको खुद नाफा तीन अर्ब २२ करोड, निक्षेप दुई खर्ब १३ अर्ब चार कराड र कुल कर्जा रकम एक खर्ब ९७ अर्ब ४७ करोड रुपैंयाँ रहेको छ ।
बैंकले हाल देशभरी फैलिएका आफ्ना दुई सय एक वटा शाखा, एक सय ७१ वटा एटीएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।