सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका ६ बुँदे विमति

सोमबार, पुष २३ २०८०

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि ६ बुँदे विमति राखेका छन् ।

कांग्रेसको संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि संस्थापनका सात र संस्थापनइतरका तीन गरी १० जना उम्मेदवार टुंगो लगाएको छ । यो विषयमा संसदीय बोर्डको बैठकमा महामन्त्री शर्माले आफ्ना विमति मौखिक रुपमा राखेका हुन् ।

महामन्त्री शर्माका ६ बुँदे विमति यस्ता छन् –

१. उम्मेदवार चयनको समग्र सन्दर्भमा सभापतिको कार्यशैलीसँग प्रष्ट असहमत

२. संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको ?

३. राष्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र ? कांग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?

४. समावेशिताको सिद्धान्त विधानमा कि व्यवहारमा ?

५. नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?

६. राष्ट्रिय सभाकै नेतृत्व गर्ने गरी अपवाद स्विकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ ।

अर्का महामन्त्री गगन थापाले भने लिखित रुपमा दुई बुँदे फरक मत राखेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएराति सम्पन्न बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार मनोनयनको निर्णय गरेको हो । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला (अन्य), मधेस प्रदेशमा आनन्दप्रसाद ढुङ्गाना (अन्य), बागमती प्रदेशमा जीतजङ्ग बस्नेत (अन्य), विष्णुदेवी पुडासैनी (महिला), गण्डकी प्रदेशमा किरणबाबु श्रेष्ठ (अन्य), पदमबहादुर परियार (अपाङ्गता/अल्पसङ्ख्यक)लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैगरी लुम्बिनी प्रदेशमा विष्णुकुमारी सापकोटा (महिला), कर्णाली प्रदेशमा कृष्णबहादुर रोकाया (अन्य), सुदूरपश्चिम प्रदेशमा बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसङ्ख्यक)लाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस मुख्यसचिव कुष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार माघ ११ गते हुने कूल १९ पदमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १० पदमा उम्मेदवार दिएको हो ।