काठमाडौं । एसीसी यू-१९ एसिया कप आज नेपालले भारतविरुद्ध खेल्दैछ । आफ्नो तेस्रो खेलमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङको निम्तो पाएको छ ।
दुबईको आइसिसी एकेडेमी ओभल(२ मैदानमा भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपाललाई सेमिफाइनलमा पुग्न भारतलाई फराकिलो अन्तरले हराउनु पर्नेछ । त्यतिमात्र होइन अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई पनि ठूलो अन्तरले पराजित गरेमात्र नेपाल सेमिफाइनल पुग्न सम्भावना हुन सक्छ ।
यस प्रतियोगितामा नेपालले आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार बेहोरेको छ भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हार बेहोरेको थियो ।
त्यस्तै समुह ए मा रहेको भारतले भने २ मध्ये एक खेलमा जित हासिल गरेको छ एक खेलमा हार बेहोरेको छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो ।
त्यस्तै आज समुह ए अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीच खेल हुँदै छ । यो खेलपनि नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि नै शुरु हुँदै छ ।
समुह ए मा पाकिस्तानले २ खेलमा दुवै खेल जितेर ४ अंक हासिल गरेको छ भने भारत र अफगानिस्तानले २-२ खेलमा एक एक खेल जितेर २-२ अंक हासिल गर्दै दोस्रो र तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै नेपालले भने दुवै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ ।