काठमाडौं । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आक्रमण हुन थालेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला सर्वदलीय सहमति खोजिरहेका छन् ।
मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा उनले १२ बुँदे समझदारी पक्षधर दलहरुको छुट्टै बैठक समेत राखे ।
वर्तमान व्यवस्थामाथिको प्रहार भइरहेको भन्दै १२ बुँदे पक्षधरको बैठकमा उनले जाजरकोट भूकम्पका कारण पनि सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताए ।
उक्त बैठकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरु एक ठाउँ उभिएको आभास पनि दिन खोजे ।
परिवर्तनकारी राजनीतिक दलका नेता खासगरी कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताले गणतन्त्र, संघीयता र संविधानप्रति प्रतिबद्ध रहेको धारणा राखेको भन्दै त्यसका लागि आगामी दिनमा एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
प्रधानमन्त्रीले सबै दलहरूबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको रक्षाका लागि एकताबद्ध हुन आग्रह गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भुमिका खेल्ने पार्टी र नेताहरुको समीक्षात्मक बैठक निरन्तर राख्नेबारेमा पनि एकमत भएको उनले बताए ।
बैठकमा उनले परिवर्तन उल्ट्याउन प्रत्यक्ष, परोक्ष कोशिस भइरहेको भन्दै जाजरकोट भूकम्पपछिको समयलाई राष्ट्रिय शक्तिहरुको एकता प्रदर्शनमार्फत् सन्देश दिनुपर्ने बताए ।
विगत केही दिनदेखि निरन्तररूपमा सामाजिक सञ्जालबाट भइरहेका गलत प्रचारप्रसारलाई नियन्त्रण एवं नियमन गर्दै लोकतान्त्रिक अधिकार सुरक्षित गर्ने विषयमा पनि राजनीतिक दलहरू सहमत भएको भनिएको छ ।
बैठक कसैसँग डराएर नभइ समीक्षा गर्नका लागि बसेको बताएपनि चुनावबाट चौथो शक्ति बनेको रास्वपा, पाँचौ राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति लगायत पार्टीहरुलाई उनले बोलाएका थिएनन् ।
यतिबेला व्यवस्था परिवर्तनको नारा लिएर दुर्गा प्रसाईँ लगायत राजावादी दलहरुले सडक संघर्ष चर्काउने बताइरहेका बेला प्रचण्डको उक्त जुक्ति सत्ता लम्ब्याउने खेल मात्र भएको बुझ्न सकिन्छ ।