काठमाडौं। चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग पराजित भएको छ ।
शुक्रवार भएको खेलमा भारतसँग ६१:१७ ले पराजित भएपछि नेपाल कास्यमा सीमित भएको हो । पराजित भएपनि नेपालले कास्य पदक भने पक्का गरेको छ । प्रतियोगितामा नेपालको यो पहिलो पदक हो ।
यसअघि समूह चरणको पहिलो खेलमै बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।
नेपाललाई हराएपछि भारत फाइनल पुगेको छ र अब स्वर्णका लागि खेल्ने छ ।
महिला कबड्डीको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा बङ्गलादेशलाई ३७–२४ ले हराएको थियो । दोस्रो खेलमा भने मङ्गलबार नेपाल साविक विजेता इरानसँग ४३–१९ ले पराजित भएको थियो । लगातार दुई जितसँगै इरान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
नेपालले महिला कबड्डीलाई पहिलो पटक एसियाडमा सहभागी गराएको हो । जारी एसियाडमा अन्य खेलमा पदकको सम्भावना क्षिण बन्दै जाँदा महिला कबड्डीले नेपालको पदक खडेरीलाई टारेको छ ।