काठमाडौं । ६० किलो ७१६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराका शिव कुमार सराफ रहेका प्रहरीले जनाएको छ ।
बिहीबार राति उनलाई बाराबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतले लोकान्तरलाई जानकारी दिए । योसँगै सुन तस्करी प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन् ।
सुन तस्करी प्रकरणको अनुसन्धानकै क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले तीनदिन अघि पनि एक जनालाई पक्राउ गरेको थियो । रुपन्देही घर भई हाल काठमाडौँंको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरेको थियो ।
सुन तस्करी प्रकरणको सूचना सङ्कलनका लागि प्रहरीको एउटा टोली भारत गएको छ भने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङकङ गएका छन् । उनीहरुले अहिले पनि तस्करीका सूचना सङ्कलन जारी राखेको प्रहरीले जनाएको छ ।
झण्डै ६१ किलो सुन तस्करी अनुसन्धानलाई इतिहासकै सबैभन्दा ठूलो र जटिल घटनाको रूपमा हेरिएको छ । यसमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय तस्कर जोडिएका छन् ।
जसमध्ये तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वान लिन, तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ लगायतका छन् ।
बरामदको बेला १ क्विटल (एक सय किलो) भनिएकाे सुनको परिणाम घटेर ६० किलो ७१६ ग्राम पुगेको थियाे ।
मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको सुन बाहिर निकाल्दा घटेर ६० किलो ७ सय ८९ ग्राम भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लौजान लागेकाे बेला काठमाडौँको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो ।