काठमाडौं – सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके तथा गण मातहतका युनिटहरुले भाद्र १८ गते बाँके जिल्लाको विभिन्न स्थानबाट १२ लाख ९४ हजार ४ सय २५ रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट गणले करीव ३ लाख ३७ हजार ९ सय २० रुपैयाँ बराबरको लत्ताकपडा, किराना सामान, १ लाख ४९ हजार ६ सय रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ । यसैगरी प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी जमुनाह) बाँकेले नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट १ लाख ६२ हजार ९ सय ६० रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
नेपालगंज उपमहानगरपालिका १५ पिप्रहवाबाट बिओपी जयसपुर बाँकेले १७ हजार ९ सय रुपैयाँ बराबरको किराना तथा ईलेक्ट्रोनिक्स र लत्ताकपडा, बिओपी बढैयाँ बाँकेले जानकी गाउँपालिका १ शिवपुरीबाट ५ लाख ५० हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा र ५० हजार रुपैयाँ बराबरको ५ सय लिटर घरेलु मदिरा बरामद गरेको छ ।
यसैगरी बिओपी खडैचा बाँकेले डुडुवा गाउँपालिका १ नयाँ बस्तीबाट ३५ हजार ३ सय ४५ रुपैयाँ बराबको सुर्तीजन्य तथा पेय पदार्थ, किराना सामान र बिओपी कट्कुईया बाँकेले नरैनापुर गाउँपालिका १ सुईयाबाट ४० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा बिओपी गंगापुर बाँकेले नरैनापुर गाउँपालिका १ मटैयाबाट १३ हजार २ सय रुपैयाँ बराबरको बोईलर कुखुराको मासु बरामद गरेको छ ।
बरामद सामान नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ भने बोईलर कुखुराको मासु र मदिरा नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी र संचारकर्मीको रोहवरमा नष्ट गरिएको छ ।