कास्की । पोखराको होटलमा जुवाखालबाट पक्राउ परेका मध्ये एकजना गाउँपालिका अध्यक्ष नै भएको खुलेको छ ।
बिहीबार साँझ सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवा खेलिरहेका बेला पक्राउ परेका जुवाडेको टोलीमा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन पनि रहेको खुलेको हो ।
लालचनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
अध्यक्ष लालचनले आफ्नो नाम ढाँटेर मोहन थकाली भनेका थिए । लालचन गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।
पक्राउ परेकाहरुलाई आज म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।