बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माधव नेपाल भ्रमण छोट्याएर स्वदेश फर्किनुको कारण सीआईबीको फोन

बुधबार, साउन ३१ २०८०

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रहरीको सीआईबीले बयान लिने तयारी गरेको छ । तयारीकै क्रममा सीआईबीले नेपाललाई युरोप भ्रमणमा रहेका बेला नै फोन गरेको खुलेको छ ।

स्रोतका अनुसार, युरोप भ्रमणमा रहेका बेला सीआईबीबाट फोन गएपछि माधव नेपालले भ्रमण छोट्याएर नेपाल फर्केका हुन् । माधव नेपाल २०८० भदौ १ गते मात्रै काठमाडौं फर्किने कार्यतालिका रहेको थियो ।

सर्वोच्च अदालतले २०८० साउन २१ गते फैसला गरेर ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई पनि बयान लिन सक्ने बाटो खोलिदिएको थियो । उक्त फैसलाको भोलिपल्ट नै नेपाल युरोप भ्रमणमा गएका थिए ।

त्यही बिचमा सीआईबीबाट के गरौं हजुर यस्तो आदेश छ, १२ भदौसम्ममा मुद्दा दर्ता गरिसक्नुपर्नेछ भन्दै फोन गरेको स्रोतको दावी छ । उक्त स्रोतले दिएको जानकारी अनुसार माधव नेपाललाई सीआईबीको उक्त फोनबाट नै नेपाल फर्किन हतारो भएको हो ।

सीआईबीले युरोप भ्रमणमा रहेका माधव नेपाललाई फोन गरेकै कारण गठबन्धनका दलहरु पनि सीआईबीले अति सक्रिय भएको र बाह्य शक्तिबाट चलेको बताउन थालेका छन् । अस्ति गठबन्धनका दलहरुवीच भएको छलफलपछि हिजो सम्पादकहरुसँग बसेका प्रधानमन्त्री प्रचण्डले पनि त्यही आंशका गरेका थिए ।

अदालत र सीआईबी आफ्नो भन्दा पनि अरुको निर्देशनमा चलेको हो कि भन्ने आंशका देखिएको बताएका थिए । माधव नेपाल र बाबुराम भट्टराईको सन्दर्भमा भएको उक्त आदेशलाई लिएर अदालतले पनि अतिसक्रियता देखाएको गठबन्धनका दलहरुको भनाइ छ ।

–साँघुन्यूज