काठमाडौँ – नेपाल राष्ट्र बैकले भोलि बिहिबार १० अर्ब रुपैयाँको बिकास ऋणपत्रको बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार भोलि बिहिबार छ बर्षे अवधिको बिकास ऋणपत्र २०८६ “छ” (६ बर्षे) बिक्री गर्न लागिएको हो ।
ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बिहिबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ । निष्काशन मिती २०८० साउन १९ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८६ साउन १९ तोकिएको छ । खरिद गरिएको ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ भने गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।
इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड हुने राष्ट्र बैंकको भनाई छ ।
खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने सिमा तोकिएको छ ।