काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि युरोमनी अवार्ड फर एक्सीलेन्स–२०२३ बाट सम्मानित भएको छ । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो र एनआईएमबीले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो । यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको थियो । वर्षभरिको कार्यसम्पादन ,रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण एनआईएमबीलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको हो ।
युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष एनआईएमबीलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ । चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैंयाँ रहेको एनआईएमबीको शेयरधनी कोष ५९ अर्ब ९५ करोड रुपैंयाँ रहेको छ । यो रकम नेपालको वाणिज्य बैंकहरू मध्येकै सबैभन्दा उच्च हो ।
एनआईएमबीले दुई सय ९६ वटा शाखा, दुई सय ८० वटा एटिएम, ६२ वटा एक्सटेन्सन काउन्टर र एक सय सात वटा शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ३० लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ । उत्कृष्ट सेवाका लागि सात वटा बैंक अफ दि एयर अर्वाड प्राप्त गरेको एनआईएमबी आईएसओ ९००१ः२०१५ प्रमाणित र आईक्रा नेपाल (इन्टरनेशनल क्रेडिट रेटिङ एजेन्सी नेपाल) बाट ए रेटिङ प्राप्त गर्न सफल भएको बैंक हो ।