काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन् ।
आईतवार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसावले शिरा ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले यी सबै कामको जिम्मेवारी कम्युनिष्ट पार्टीबाट नै पूरा हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्नेकुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको बताए ।
अध्यक्ष नेपालले सबैले इमान्दारिताकासाथ अघि बढेको खण्डमा अग्रज योद्धाहरुले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिने बताए ।