बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

सत्ता परिवर्तनको चर्चा

आइतबार, असार १७ २०८०

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितको गठबन्धनको समर्थनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार गठन भएको ६ महिना पूरा भएको छ ।

नेकपा एमालेसहितको गठबन्धनको समर्थनमा गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको निर्वाचनले जन्मिएको कांग्रेससहितका दलहरूको गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । तर, प्रचण्ड नेतृत्वको सरकारप्रति पछिल्ला दिनहरूमा सत्तारूढ दलहरू नै असन्तुष्टि व्यक्त गर्न थालेका छन् । गठबन्धन दलका नेताहरू सरकारको कार्यशैलीको सार्वजनिक रूपमै आलोचना गर्न थालेका हुन् । सत्ता सहयात्री दलहरूबाटै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त भइरहँदा प्रधानमन्त्री प्रचण्ड भने सरकारले प्रभावकारी काम गरिरहेको दाबी गर्दै आएका छन् ।

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको हो । ६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गरे ।

भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारले अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले भने, ‘जनताले अपेक्षा गरेबमोजिम विकासले गति लिन सकेको छैन । शासन, प्रशासन चलेको छैन । भ्रष्टाचार अहिले पनि व्याप्त छ । ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । यी सबैमा निगरानी जनताका प्रतिनिधिहरूकै हुन्छ ।’

सरकारका काम कारबाहीलाई लिएर सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा तीव्र विवाद छ । कांग्रेसभित्र संस्थापनइतर पक्षका नेताहरू वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले गठबन्धनको सरकार भएकै भरमा काँध थापेर जान नसकिने टिप्पणी गर्न थालेका छन् । इतर पक्षका नेताहरू जनअपेक्षालाई पूरा गर्न वर्तमान सरकारबाट सम्भव नभए सत्ता समीकरण परिवर्तन गर्न पछि पर्न नहुने तर्क गरिरहेका छन् । तर, संस्थापन पक्ष भने अहिले नै गठबन्धन र सरकारको विकल्प सोच्न नहुने अडानमा छ । सरकारको कारण कांग्रेसमा आन्तरिक संघर्ष चुलिँदै गएको छ ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागिपरेको बताए। दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको स्पष्ट पार्दै महामन्त्री थापाले भने, ‘कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ हेर्नोस् । यो देश बदल्नैपर्छ । बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ । तर, कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ । म बदलिन तयार छु । दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ ।’

पार्टीका शीर्ष नेताहरू पटकपटक प्रधानमन्त्री भइरहेकै कारणले पुराना पार्टी संकटमा परेको जिकिर गर्दै महामन्त्री थापाले भने, ‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा एउटा व्यक्ति, एउटा नेता पाँचपटक, ६ पटक प्रधानमन्त्री भएको मलाई बताइदिनुस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन । कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुप्रै कारणमध्येको मूलकारण भनेको ती पार्टीको नेताहरू खासगरी पार्टीहरू जमेको पोखरी जस्तो भयो ।’

यता कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्र एवं परराष्ट्रमन्त्री एनपी साउदले भने अहिलेको सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन् । बाहिर हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको जिकिर गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले भने, ‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ । हामीले इतिहासबाट पाठ सिक्नुपर्छ, त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनै पनि सम्भावना रहेको छैन ।’ सभापति देउवाका अर्का विश्वासपात्र अर्थमन्त्री डा।प्रकाशशरण महतले पनि कांग्रेस र एमालेको संयुक्त सरकार बन्ने हल्ला अफवाह मात्र भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने दाबी गरेका छन् । बजारमा विभिन्न हल्ला चले पनि गठबन्धन एक ढिक्का रहेको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हल्लाएर हल्लिँदैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।’