बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नक्कली शरणार्थी प्रकरण: तीन प्रतिवादीका १३ वकिलको बहस सकियो

बिहिबार, जेष्ठ २५ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा तीन प्रतिवादीका १३ जना वकिलको बहस सकिएको छ । मंगलबारसम्म सरकारी वकिल र जाहेरवालातर्फका निजी वकिलले बहस सकेपछि प्रतिवादीतर्फका वकिलहरूले बुधबारदेखि प्रतिरक्षा बहस थालेका थिए ।

बुधबार मात्रै काठमाडौं जिल्ला अदालतमा तीनजना प्रतिवादीहरू केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको तर्फबाट १३ जना वकिलहरूले प्रतिरक्षा बहस गरे । बुधबार सबैभन्दा पहिले यो प्रकरणमा बिचौलियाका रूपमा अभियोग लगाइएका केशव दुलालको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए । दुलालको बचाउ गर्दै विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, योगेन्द्रबहादुर अधिकारी, नरबहादुर योगी र राजन भट्टराईले बहस गरेका हुन् ।

दुलालको तर्फबाट ६ जनाले बहस गरिसकेपछि अर्का बिचौलिया सानु भण्डारीको पक्षबाट सबैभन्दा पहिले वकिल विनोद शर्माले प्रतिरक्षा बहस गरे । सानुको पक्षमा शर्मापछि चूडामणि पोखरेल, शिवप्रसाद रिजाल, साधुराम सापकोटा, शरदप्रसाद कोइराला, खडानन्द कँडेल र निरसिंह कुमार खत्रीले बहस गरे ।

सानुसँगै टंकको पक्षमा पनि तिनै वकिलले बहस गरेका थिए । उनीहरूले दुलाल, भण्डारी र टंकविरुद्ध लगाइएको अभियोग पुष्टि हुनै नसक्ने तर्क गर्दै प्रहरीसँग प्रमाण पनि नरहेको उल्लेख गरेका थिए । बहसका क्रममा अधिवक्ता विकास भट्टराईले दुलाल आफैँ पनि अमेरिका जाने भनेर ठगिएका व्यक्ति भएको जिकिर गर्नुभयो । बिहीबार सानुको पक्षबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्न बाँकी छ । आज पनि निरन्तर बहस हुनेछ ।

सानु भण्डारीको काँधमा बन्दुक राखेर मान्छे छानीछानी ‘ड्यामेज’ गर्न खोजिएको प्रतिवादीका वकिलहरूको दाबी
नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत बुधबार प्रतिवादीको तर्फबाट बहस गर्ने वकिलहरूले बिनाप्रमाण र बिनाअनुसन्धान सरकारी अभियोजन पक्षले अदालतमा मुद्दा थोपर्न ल्याइएको जिकिर गरे । सरकारी अभियोजन पक्षले मान्छे छानीछानी अभियुक्त बनाएर उनीहरूलाई सिध्याउन खोजेको प्रतिवादीका वकिलहरूले दलिल पेस गरेका हुन् ।

अधिवक्ता शालिकराम सापकोटाले सानु भण्डारीको काँधमा बन्दुक राखेर सरकारी अभियोजन पक्षले मान्छे छानीछानी ड्यामेज गर्न खोजेको दाबी गर्नुभयो । सानु भण्डारीको पक्षबाट बहस गरेका उनले प्रहरी एवं सरकारी वकिलले आफूहरूले छानेका व्यक्तिहरूलाई मात्रै पोल्न लगाएको बताए । सानुले पोलेका टोपबहादुर रायमाझीलाई प्रतिवादी बनाइँदा अख्तियार प्रमुख प्रेम राई र पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापालाई प्रतिवादी नबनाएको अधिवक्ता सापकोटाको संकेत थियो ।

उहाँले प्रहरी र सरकारी वकिलले आफूहरूलाई चाहिएका व्यक्तिहरूलाई मात्रै पोल्न लगाएर बिनाप्रमाण अदालतमा मुद्दा दायर गरिएको जिकिर गर्नुभयो । ‘सरकारी अभियोजन पक्षको अनुसन्धान नै भद्रगोल छ’, उनले भने, ‘उनीहरूको नियत नै खराब देखियो । नत्र एकै व्यक्तिले पोलेका सीमित व्यक्तिमाथि मुद्दा लाग्ने बाँकी उम्किने भन्ने हुँदैन ।’

त्यस्तै, प्रतिवादीको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता शिवप्रसाद रिजालले सरकारी अभियोजन पक्षले स्वतन्त्र अनुसन्धान नगरी हचुवाको भरमा अदालतमा मुद्दा ल्याइएको बताए । अहिले सरकारी वकिलले समेत स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्ने अधिकार हुँदा पनि स्वार्थ प्रेरित भएर मुद्दा ल्याइएको उनको भनाइ थियो ।

‘दूषित मनसायबाट मुद्दा लगाइएको छ । स्वतन्त्र अनुसन्धान गरिएको छैन । प्रमाण केही छैन । के कारणले दोषी भए र के सजाय हुने भन्नेसम्म मुद्दामा स्पष्ट छैन’, वरिष्ठ अधिवक्ता रिजालले भने । ‘अनुसन्धानसमेत अदालतले गर्नुपर्ने अवस्था छ । सबै काम अदालतले गर्नुपर्ने गरी सरकारी अभियोजन पक्षले अभियोग मात्रै लगाउने काम गरेको छ ।’

उनले पनि प्रतिवादीले पोलेकै भरमा टोपबहादुर रायमाझी पनि अभियुक्त हुने भए अरू व्यक्तिहरू पनि प्रतिवादी हुनुपर्ने जिकिर गरे । उनले पैसा दिएर नक्कली भुटानी शरणार्थी बन्न तयार पीडितहरू पनि दोषी रहेको दाबी गर्नुभयो । वरिष्ठ अधिवक्ता रिजालले उनीहरूमाथि मतियारको रूपमा कारबाही गर्नुपर्ने माग गरे । सो बहसका लागि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका बहालवाला अध्यक्ष र पूर्वअध्यक्षहरूले नाम टिपाएका छन् ।

यसअघि नै निर्धारण भएको बहसको समयअनुसार सरकारी वकिलले तीन दिन समय पाएका थिए । अभियुक्त पक्षका वकिलहरूलाई भने ६ दिनको समय दिइनेछ ।

जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ हिरासतमा छन् भने १२ जना अझै फरार छन् ।