बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बुधबार, जेष्ठ १७ २०८०

काठमाडौं – चितवनको राप्ती नगरपालिका–४ मार्तल पुल नजिकै सडकमा बा.प्र. ०३–००१ ख १८६३ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय हरि पाण्डेको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित सडकमा प्रदेश १–०१–००१ ख ३५४९ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय यज्ञ थापाको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको राप्तिसोनारी गाउँपालिका–८ मुगुवा खोलास्थित सडकमा मे.१ ख ३३३५ नम्बरको बस र बा.१३ च ८२५३ नम्बरको कार एक–आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा कारमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कार चालक गोरखा पालुङटार नगरपालिका–३ बस्ने ३५ वर्षीय सुभाष अधिकारी र कारमा सवार सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ बस्ने ५३ वर्षीया डा.सन्जु खाती खड्का रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ बोहोरेमा ज.१ त ९९४१ नम्बरको ट्याक्टरको ट्रली र इन्जिनको बिचको भाग भाचिएर मंगलबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सह–चालक कमलामाई नगरपालिका–२ बस्ने १५ वर्षीय लक्षमण विकको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।